वीरगञ्जमा बिहीबार मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण

  साउन २२, २०७७

वीरगञ्ज, साउन २२ : वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहीबार विहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको हो ।

गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले शंकास्पद कोरोना रोगीको रुपमा वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचारकाक्रममा विहीबार बिहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि गर्नुभयो ।
बिहीबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले गोरखापत्रलाई बताउनुभयो ।

मधुमेह र मुटुरोगी ती पुरुषमा श्वास प्रश्वासमा समस्या आएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना रोगीका रुपमा भर्ना गरी उपचार सुरु गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि बिहीबार विहान उपचारकै क्रममा मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो ।

पिसीआर परीक्षणका लागि मंगलबार नै स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ मरणोप्रान्त कोरोना पोजेटिभ रिर्पोट आएको हो ।
पर्सामा मृत्यु हुने सङ्क्रमितको संख्या १८ पुग्यो भने साउन महिनाका २२ दिनमा मात्र १५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया