बाँकेमा समुदायबाट एकैदिन २८ जना सङ्क्रमित थपिए

  साउन २२, २०७७

नेपालगञ्ज, साउन २२ : पछिलो समयमा आएर बाँकेमा समुदायमा फैलिँदै गएको कोभिड १९ को सङ्क्रमणका कारण सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बाँकेका थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा सङ्क्रमितको संख्या ४ सय ९८ पुगेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा नेपालगञ्ज र खजुराका गरेर २८ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँले यसरी सङ्क्रमित हुनेहरुमा सबैजना समुदायमा नै घुलमिल गरेर बसेका सर्वसाधारण रहेको पनि बताउनुभयो । बिहीबार सङ्क्रमित पुष्टि भएकाहरु मध्ये १६ जना पुरुष र १२ जना महिला रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले सङ्क्रमितहरुमा २५ जना नेपालगञ्जका र तीन जना खजुुराका रहेको बताउनुभयो । बाँकेमा पछिल्लो समयमा प्रहरी, कर्मचारी, कैदी र बजारका पसलेहरु लगायतमा सङ्क्रमण देखिन थालेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले समुदायमा रहेकाहरुमा सङ्क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गर्दा बिहीबार थप २८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले नेपालगञ्जमा मात्रै पछिल्लो एक सातामा करिब सयजना सङ्क्रमित थपिएपछि नेपालगञ्जको अवस्था निकै गम्भीर बन्दै गएको बताउनुभयो ।

निषेधाज्ञा उल्लंघन गर्ने २५ लाई पक्राउ गरेर क्वारेन्टाइन पठाइयो
नेपालगञ्जमा समुदायमै सङ्क्रमण तीब्र गतिमा बढ्दै गएपछि सो नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको पनि व्यापक उल्लंघन गरिएको पाइएको छ ।

निषेधाज्ञाको पालना नगरिएको गुनासो आएपछि बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र प्रहरी प्रमुख एसपी ओमबहादुर राना आँफै सडकमा निस्कनुभयो ।

जिल्लाका सुरक्षा प्रमुखहरु सडकमा निस्केपछि निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई पक्राउ गरेर क्वारेन्टाइन पठाइएको छ । उनीहरुलाई १४ दिनपछि मात्रै छाडिने प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले पटक पटक सर्वसाधारणसँग निषेधाज्ञाको पालना गर्न आग्रह गरे पनि अटेरी गर्ने गरेको पाईएको छ ।

तपाईको प्रतिक्रिया