पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा

  साउन २२, २०७७

सिन्धुपाल्चोक, साउन २२ : प्रत्येक वर्षको वर्षामा सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा पारेका छन् । घट्टेखोलाको बाढी र पहिरोले तीन घरमा पूर्णरूपमा क्षति पु¥याएको छ ।

बाह्रबिसे नगरपालिका २ का कमल विक, गोपाल विक र गुना विकको घर पहिरोले बगाएको स्थानीय अजय लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पृथ्वीबहादुर भण्डारी, सीताराम कार्की, डिलबहादुर भण्डारी, तिलक भण्डारी र राजन भण्डारीको घरमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बाढी र पहिरोले क्षति पु¥याएको घरलगायतको क्षतिको विवरण लिने कार्य भइरहेको छ ।

वर्षाका कारण पाँचपोखरी गाउँपालिका ८ तिपेनीमा पहिरोले ३० घर उच्च जोखिममा पारेको गाउँपालिकाका अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिने उहाँले बताउनुभयो । उच्च जोखिममा रहेका केही स्थानीय छिमेकीको घरमा आश्रित छन् भने केही खेतबारीमा त्रिपाल र टिनले बारेर बसेका छन् । भोटेकोसी गाउँपालिकाको लिस्तिकोट, कोदारी, हिन्दी, खोकुण्डोल, चाकु, मार्मिङ, नारायणथान लगायतका बस्ती पहिरोका कारणले उच्च जोखिममा परेको स्थानीय सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिका ४, यमुनाडाँडाका मिजारटोल पहिरोको खतरामा परेको भन्दै स्थानीय इन्द्र मिजार वडा कार्यालय र गाउँपालिकाले पहिरो रोकथामका लागि तत्काल नै उपाय निकाल्नुपर्ने बताउनुहुन्छ । वर्षाले बस्ती खतरामा पारेपछि सुरक्षित स्थानमा जान लागेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया