भारतको अयोध्यामा राममन्दिर निर्माणको लागि भूमिपूजन सम्पन्न

  साउन २१, २०७७

काठमाडौँ, साउन २१ : भारत उत्तरप्रदेशको अयोध्यास्थित राम जन्मभूमिस्थलमा मन्दिर निर्माणको लागि ‘भूमिपूजन’ गरिएको छ । भूमिपूजनमा नौ वटा इँट बिछ्याइएका छन् ।

समाचार संस्था एएनआइका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वटै इँट बिछयाएर भूमिपूजन गर्नुभएको छ । भूमिपूजन गराउनुभएका पुजारीले सन् १९८९ मा विश्वभरिका हिन्दू धर्मावलम्बीले पठाएको इँटको प्रतिनिधित्व नौ वटा इँटले गरेको बताउनुभयो । सन् १९८९ मा विश्वभरिबाट करिब दुई लाख ७५ हजार इँट मन्दिर निर्माणको लागि पठाइएको थियो । जसमध्ये एक सय इँटमा ‘जय श्री राम’ अङ्कित गरिएको छ ।

करिब दुई हजार तीर्थस्थलको माटो र एक सय पवित्र नदीको पानी ल्याएर भूमिपूजन स्थल पवित्र गरिएको छ । भूमिपूजनलाई भारतीय प्रधानमन्त्री मोदीले भावुक क्षणको रुपमा वर्णन गर्नुहुँदै भन्नुभयो, “प्रत्येक मुटु प्रज्वलित भएका छन् ।”

“मन्दिर निर्माणले इतिहास मात्रै बनेको छैन् बरु इतिहास दोहोरिँदैछ,” भन्नुहुँदै उहाँले रामको महिमा सबैतिर रहेकोले भारत मात्रैको नभई समग्र विश्वले नै आत्मसात गरेको बताउनुभयो । उक्त अवसरमा राम मन्दिर ट्रष्टका प्रमुख नित्यगोपाल दास, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राज्यपाल आनन्दीबेन पटेल र राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवतको उपस्थित हुनुहुन्थ्यो । मन्दिर निर्माण परिसरमा भारतीय प्रधानमन्त्री मोदीले पारिजात फूलको बिरुवासमेत रोप्नुभयो ।

तपाईको प्रतिक्रिया