उक्लँदो मूल्य, ओर्लँदो कारोबार, चिन्तित व्यवसायी

  साउन २१, २०७७

काठमाडौँ, साउन २१ : पहेँलाे धातु सुनकाे मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । केही समयदेखि सुनले निरन्तर नयाँ मूल्यमा कीर्तिमान कायम गर्ने क्रममा बुधबार पुनः नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार बुधबार नेपाली बजारमा सुनले नयाँ कीर्तिमान कायम गरेको हो । यो क्रम अझै बढ्न सक्ने उपाध्यक्ष शाक्यले भन्नुभयो ।

बुधबार छापावाल सुनको मूल्य एक लाख एक हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको उपाध्यक्ष शाक्यले बताउनुुभयो । ‘बिहानको अवस्थालाई विश्लेषण गर्दा सुनको मूल्य एक लाख दुई हजारको हाराहारीमा पुग्ने अवस्था थियो’ शाक्यले थप्नुभयो ।

मङ्गलबारसम्म प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपियाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ ।

यो वर्षको अन्त्यसम्ममा सुनले एक लाख ५० हजारको हाराहारीमा कायम गर्न सक्ने उपाध्यक्ष शाक्यले बताउनुुभयो । कोरोनाकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको शाक्यले बताउनुभयो । यहीक्रम अघि बढे दसैँ तिहारसम्ममा सुनको मूल्य एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा दुई हजार २२ प्रति औँस कारोबार भइरहेकाले त्यसको हिसाब गर्दा नेपालमा सुनको मूल्य एक लाख नाघेको हो । बुधबार छापावाला सुनको एक तोलाको एक लाख एक हजार चार सय, तेजाबी सुन एक लाख नौ सय पुगेर नयाँ मूल्य कायम भएको हो ।

नौ हजार व्यवसायी प्रभावित
त्रिसठ्ठी जिल्लामा सुनचाँदीको व्यवसाय गर्ने नौ हजार व्यवसायीहरू नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा आबद्ध छन् । सुनको मूल्य निरन्तर उकालो लागेसँगै नौ हजार व्यवसायी प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यले बताउनुभयो ।

उहाँका अनुसार दैनिक सिजनमा ६० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । त्यस्तै सामान्य अवस्थामा समेत दैनिक ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार भएको उपाध्यक्ष शाक्यले बताउनुभयो ।

अहिले अति आवश्यक भएकाहरूले मात्रै किनबेच गर्ने गरेका छन् । अहिले नेपालमा सुनचाँदीको कारोबार स्थिर रहेको शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया