काठमाडौं, साउन २१ : मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् ।
मलेसियामा रहेको नेपाली राजदूतावासले आज (बुधवार) एक सूचना जारी गर्दै नेपालमा श्रम स्वीकृति लिई यी दुई देशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्कने इच्छा भए निवेदन दिन अनुरोध गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारहरुको उद्वार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ अनुसार वैदेशिक रोजगार बोर्डको कोषबाट हवाई टिकट पाउने व्यवस्था भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
टिकटका लागि आवेदन दिन सक्ने व्यक्तिहरु नेपालबाट श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको हुनुपर्नेछ । सम्बधित गन्तव्य मुलुकको सरकार (मलेसिया वा ब्रुनाई) रोजगारदाता, रोजगारीमा पठाउने ईजाजतपत्रवाला संस्था वा अन्य श्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा नेपाल फर्कन नसक्ने अवस्थाको कामदार हुनुपर्नेछ ।
साथै, थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारहरुले समेत आवेदन दिन सक्नेछन् । टिकट प्राप्त गर्ने व्यक्तिहरुको चयन प्राथमिकताका आधारमा गरिने बताएको छ ।
पहिलो सजायँबाट आममार्फी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल जान अनुमति प्राप्त भएका नेपाली प्राथमिकतामा पर्ने छन् ।जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका वा रोजगारी गुमाएका पनि प्राथमिकतामा पर्ने दूतावासले बताएको छ ।
रोजगारमा गएको एक वर्ष भन्दा कम अवधिमा रोजगारी गुमाएकाले सम्पूर्र्ण खर्च पाउनेछन् । एक वर्षदेखि तीन वर्ष भित्रको समयमा रोजगारी गुमाएकाले ७५ प्रतिशत खर्च पाउनेछन् । पुनः श्रम स्वीकृति लिई गएको कामदारको हकमा ५० प्रतिशत र श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारको हकमा सम्पूर्ण खर्च पाइने दुतावासले बताएको छ ।
कुनै निकायबाट आंशिक सहयोग प्राप्त भएको भएमा बाँकी अपूग रकम पाइने व्यवस्था भएको सूचनामा उल्लेख छ । विमानस्थलदेखि क्वारेण्टिन सेन्टरसम्म जान लाग्ने सम्पूर्ण खर्चको सुविधा रहेको बताइएको छ । नेपाली राजदूतावासमा स्वयं उपस्थित भई वा राजदूतावासको इमेल, हटलाईन नम्बर वा ह्वाट्स एप मार्फत् पनि निवेदन पेश गर्न सकिने सुविधा रहेको छ ।
टिकटको लागि निवेदनका साथै राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि संलग्न गर्न आवश्यक छ ।
आवेदनकर्ताहरुको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजहरुको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार वोर्डमा पठाइनेछ । वोर्डको कोषबाट रकम निकासा भए पश्चात् हवाई टिकट उपलव्ध गराईनेछ ।
टिकट उपलव्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा निजको माग पत्र पाँच वर्षसम्म प्रमाणीकरण नगरिने समेत दूतावासले स्पष्ट पारेको छ । कुनै व्यक्तिले हवाई टिकटको सुविधा लिने मनसायले झुटा विवरण भरी सुविधा लिइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मलेसियामा रहेको नेपाली राजदूतावासले बताएको छ ।