कोशी अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना पाइयो

  साउन २१, २०७७

विराटनगर, साउन २१ : कोशी अस्पताल विराटनगरमा बुधबार मोरङका थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । अस्पतालमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुष र उपचारका लागि भर्ना गर्ने क्रममा रंगेली–८ निवासी एकजना महिलाको मृत्यु भएको हो ।

दुवैजनाको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका कलेजोमा समस्या भई पेटमा पानी जमेर उपचारका लागि मंगलबार अस्पताल भर्ना भएका विराटनगरका पुरुषको दिउँसो साढे १ बजे मृत्यु भएको थियो ।

यसैगरी रंगेलीकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारकाका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । दुवैजनाको मृत्युपछि मात्रै स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेभिट आएको मेसु दासले जानकारी दिनुभयो ।

कोशी अस्पतालमा यस अगाडि सोमबार विराटनगर–५ निवासी ७७ वर्षीय पुरुषको मृत्यु भएको थियो । यसैगरी मोरङ सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता निधन भएको थियो । मोरङमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

तपाईको प्रतिक्रिया