पोखराको कोसेली टुसा विक्री खुल्ला, एक करोडको व्यापार

  साउन २०, २०७७

पोखरा, साउन २० : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले विक्री अनुमति दिएपछि पोखरा बजारमा टुसाको विक्री सुरु भएको छ । एक्यापले यस वर्षका लागि माछापुच्छे गाउँपालिका–१, २ को सार्दीखोला, वडा नं. ८ र ९ को ल्वाङबाट तीन लाख मुठा टुसा विक्री अनुमति दिएको थियो ।

विगतको भन्दा टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा थप टेवा पुग्ने उद्देश्यले टुसा विक्रीका लागि साउन १६ देखि टुसा विक्री वितरण गर्न अनुमति दिएको इलाका संरक्षण कार्यालय ल्वाङ व्यवस्थापन समितिकाका सचिव सुकबहादुर तामाङ जानकारी दिनुभयो । पोखरामा घोरे, मालिङ्गे र जडिबुटी प्रजातीका टुसा पाइने गरेको छ । टुसाका लागि ब्राण्ड नै बनेको पोखरामा मात्र नभएर बाहिरका शहरहरुमा समेत माग बढ्न थालेपछि टुसा विक्री बढेको व्यवसायीहरु बताउँछन् ।

टुसा समुद्री सतहदेखि २५ सय मिटरदेखि ३५ सय मिटरको उचाईसम्म पाईन्छ । कास्कीको विभिन्न ठाँउबाट वार्षिक एक करोड रुपैयाँ बराबरको टुसा पोखराको बजार तथा अन्य शहरसम्म पुग्ने तामाङले बताउनुभयो । निश्चित समयसीमा तोकेर टुसा टिप्ने स्वीकृत एक्यापले दिने गरेपछि अहिले पोखराको बजारमा प्रति मुठा ८० रुपियाँमा विक्री भैरहेको छ । ‘हामीले टुसा संकलन गर्नेलाई प्रति मुठा २५ रुपियाँ दिने र प्रतिमुठा ३५ रुपियाँमा विक्री गर्ने गरेका छौं, बिचौलियाका कारण बजारसम्म पुग्दा त्यस्को मूल्य ८० रुपियाँ पर्दो रहेछ ।’ तामाङले भन्नुभयो ।

टुसा पोखरामा मात्रै पाइने भएकाले अन्य शहरमा विशेषगरी कोशेलीको रुपमा लैजाने गरिन्छ । पोखराको चिप्लुढुङगामा टुसा किन्दै गर्नुभएकी तारा थापाले तरकारी खान मिठो हुने बताउनुभयो । यहीको जंगलमा पाइने भएकाले अर्गानिक हुने र वर्षको एक पटक नयाँ तरकारी खान पाइने भएकाले सधै किन्ने गरेको बताउनुभयो । टुसा सबैलाई मनपर्ने भएकाले यसको माग बढदो रहेको ब्यवसायी कमला अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया