उपत्यका प्रवेश गर्ने दश हजारको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि

  साउन २०, २०७७

काठमाडौं, साउन २० : काठमाडौं उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन दोस्रो साता काठमाडौं उपत्यका प्रवेशको साँघा, थानकोट र फर्पिङ नाकामा स्वाब सङ्कलन गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दश हजार ८५३ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा–थानकोटबाट छ हजार ६४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

त्यसैगरी, बीपी राजमार्ग भएर काठमाडौं प्रवेश गर्ने साँघाबाट तीन हजार ८४२ जनाको स्वाब परीक्षण गर्दा १३ जनामा सङ्क्रमण फेला परेको डा. गौतमले बताउनुभयो । फर्पिङ नाकाबाट एक हजार ३०७ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनामा सङ्क्रमण फेला परेको छ । मन्त्रालयका अनुसार नाका प्रवेश गरेकाबाट सङ्कलित स्वाब नतिजा बमोजिम शुन्य दशमलब ४ प्रतिशत सङ्क्रमण दर रहेको छ । उक्त दर दैनिक सङ्क्रमण दरभन्दा अत्यन्तै कम देखिएको छ ।

तपाईको प्रतिक्रिया