कोरोना सङ्क्रमण बढ्यो

  साउन २०, २०७७

काठमाडौँ, साउन २० : केही दिन अघिसम्म सय-डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र ५१ जना छन् । काठमाडौँमा पनि विगत दिनको तुलनामा यो सङ्ख्या धेरै हो ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँका ४३, ललितपुरका तीन र भक्तपुरका पाँच गरी कुल ५१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ ।

हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७३२ रहेको जानकारी उहाँले दिनुभयो  । पछिल्लो २४ घण्टामा थप ३५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १४ हजार ९६१ पुगेको छ ।  

तपाईको प्रतिक्रिया