कामदारप्रति जिम्मेवार हुन बैदेशिक रोजगार कम्पनीलाई दूतावासको आग्रह

  साउन २०, २०७७

काठमाडौं, साउन २० : अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदार प्रति गैर जिम्मेवार भएको पाइएको छ ।

साउदीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै केही इजाजत म्यानपावर कम्पनीले कोरोनाका कारण समस्यामा परेका कामदारलाई खाद्यन्न लगायत आवासको लागि पहल गरेको पाईए पनि अधिकांश वैदेशिक रोजगार कम्पनी गैरजिम्मेवार भएको पाइएको बताएको हो ।

राजदूतावासको वारम्बार अनुरोधलाई समेत वेवास्ता गर्ने गरेको र उल्टै कामदारलाई राजदूतावासले नै समस्या समाधान गर्छ भनेर आफू पन्छिने प्रवृति देखिएको दूतावासको भनाई छ ।

कोरोना संक्रमणको विद्यमान असहज अवस्थामा मात्र नभई अन्य अवस्थामा समेत आफूले पठाएका कामदारहरुको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई आवश्यक सहयोग गर्नु इजाजतवालाको मुख्य दायित्व हो ।

वैदेशिक रोजगार कम्पनीले वर्तमान विषम अवस्थामा समेत आफनो दायित्वबाट भाग्ने, कामदारले गरेको गुनासाहरु नसुन्ने, गलत अश्वासन दिने गरेको पाइएको दूतावासले बताएको छ ।
दूतावासले विद्यमान अवस्थामा आफूले पठाएका कामदारहरु प्रति जिम्मेवार हुन अनुरोध गरेको छ ।

काम कटौति भएर वा कम्पनी बन्द भई खाद्यान्न लगायतका समस्यामा परेका कामदारहरूको खाद्यान्न र आवासको समस्या समाधान गर्न रोजगारदाता सँग सम्पर्क समन्वयका लागि आवश्यक पहल गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

साथै कामदारहरू कार्यरत कम्पनीमा रोजगारीको सम्भावना नभएका कामदारहरूको इच्छा बुझी अन्य कम्पनीमा अकामा सहितको रोजगारीको सम्भावना खोज्न वा सोको विकल्प नभएको अवस्थामा कामदारहरुलाई स्वदेश फर्काउन गम्भीर भई पहल गर्न दूतावासले इजाजतपत्रवालालाई अनुरोध गरेको छ ।

कोरोना संक्रमणको लामो अवधिमा विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरुले रोजगारी गुमाउनु परेको र काम विहीन भई बस्नु परेको अवस्था छ । दूतावासका अनुसार यस वीचमा केही कम्पनीहरु पूर्णरुपमा बन्द भई कामदार स्वदेश फर्केका छन् भने कतिपय खुल्ने अपेक्षामा बसेका छन् ।

तपाईको प्रतिक्रिया