काठमाडौं उपत्यकामा २४ घण्टामा ६२ सङ्क्रमित

  साउन २०, २०७७

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना गरी उपत्यकामा ६२ जना सङ्क्रमितको पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । काठमाडौंमा पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाको करिब १४ वटा अस्पताल तथा प्रयोगशालामा कोरोना सङ्क्रमणको परीक्षण हुँदै आएको छ । सोमबार काठमाडौंमा ५१ जना नयाँ सङ्क्रमित थपिएको थियो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ११ तथा काठमाडौंका ३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । वीर अस्पतालमा काठमाडौंका एक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा काठमाडौंका पाँच जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

त्यसैगरी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जमा भक्तपुरका एक, स्टार अस्पताल–सानेपामा काठमाडौंका दुई र ललितपुरका एक तथा बीआइडीएच प्रयोगशालामा काठमाडौंका तीनजनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपाल कोरिया मैत्री अस्पताल–भक्तपुरमा भक्तपुरका एक जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया