बाढी पहिरोले मुस्ताङमा बिरामी रोकिए, खाद्यान्न र इन्धन सकियो, जनजीवन कष्टकर

  साउन १६, २०७७

बेनी, साउन १५ : केही समय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यान्न तथा औषधिलगायत अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन, जसले गर्दा हिमालपारिकाे जिल्ला मुस्ताङको जनजीवन सहज थियो । तर अहिले केही समयदेखिको वर्षाका कारण मुस्ताङमा नाकाबन्दीजस्तै अवस्था छ ।

हवाई सेवा बन्द छ, सडकहरू पचासौँ स्थानमा गएको पहिराले ठप्प छन् । विगत हेर्ने हो भने मुस्ताङमा अन्य जिल्लाको तुलनामा पानी पनि कमै पर्छ । तैपनि यसपालि मुस्ताङ अन्य जिल्लाको तुलनामा वर्षाबाट पीडित भयो । मुस्ताङमा अहिले खाद्य सङ्कट देखिन थालेको छ भने उपचार गर्नुपर्ने बिरामीहरू कोही घरमै कोही हस्पिटलमा छट्पटिएर आकाश कहिले खुल्ला भनेर हेरीबस्न बाध्य भएका छन् ।

अहिले मुस्ताङ अस्पतालमा रहेका बिरामीहरूलाई रिफर गर्नुपर्ने भए पनि हवाई तथा सडक दुवै यातायातका माध्यम नहुँदा पठाउन नसकिएको डाक्टर साजन बरालले बताउनुभयो । डाक्टर बराल भन्नुहुन्छ, ‘उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङका १८ वर्षीय युवा र घरपझोङ गाउँपालिका मार्फाका प्यारालाइसिसका बिरामीलाई पोखरा पठाउनपर्ने छ तर माैसमका कारण हवाई उडान हुन सकेको छैन । बेनी-जोमसोम सडक पनि अवरुद्ध छ । त्यसैले पठाउन सकिएको छैन ।’

जिल्ला प्रशासन कार्यालय, मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल भन्नुहुन्छ, ‘सुत्केरी हुने एक जना महिला तथा घर भत्किएर गत साउन १२ गते घाइते भएका थासाङ गाउँपालिका नाउरीकोटका एक पुरुषलाई पोखरा पठाउनका लागि हवाई अनुमति लिएको भए पनि माैसमको कारण फ्लाइट हुन नसक्दा रोकिएको छ ।’

उहाँले थप्नुभयो, ‘अस्पतालमा दुई जना र प्रशासनमा अनुमति लिएका दुई जना गरी चार बिरामीलाई नपठाई नहुने छ तर अनुमति लिएको भए पनि मौसमको कारण चार्टर्ड फ्लाइट आउन सकेको छैन ।’

मुस्ताङ प्रवेशका लागि सबैभन्दा उत्कृष्ट माध्यम भनेकै बेनी–जोमसोम सडकखण्ड र अर्को भनेको पोखरा–जोमसोम हवाई मार्ग हो । बेनी जोमसोम सडक खण्डमा सानो ठूलो गरी पचासौँ स्थानको पहिरो अनि कोभिड–१९ को कारणले भएको लकडाउनले गर्दा हवाई यातायात पनि बन्द हुँदा दैनिक उपभोग्य तथा खाद्यान्न र औषधिसमेत ढुवानी गर्न मुस्किल भएको छ ।

गत असार २६ गते बिहान बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ जोड्ने राहुघाट खोलको बेलिब्रिज भत्किएपछि सडक अवरुद्ध भएको थियो । त्यही दिन नै म्याग्दी मुस्ताङको सिमानानजिक काभ्रेभिर र घोप्टेभिरमा पनि भीषण पहिरोका कारण सडक बन्द भएको छ । मनाङ तथा डोल्पातर्फ पैदलमार्ग भए पनि निकै जोखिमयुक्त भएको कारण अहिल्यै त्यसतर्फबाट अन्य केही गर्न सम्भव नभएको प्रजिअ अर्यालको भनाइ छ ।

बीस दिनभन्दा बढी समयदेखि लगातार सडक बन्द हुँदा सुरक्षा निकायहरूमा खाना पकाउने इन्धनको अभाव भएको प्रजिअ अर्यालको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले सेना, प्रहरी र सशस्त्रलाई खाना पकाउने ग्यास अभाव भएको छ ।’ खाद्य संस्थानसँग हाल २०० क्वीन्टल चामल स्टक रहेको भए पनि दैनिक ज्याला मजदुरी गरेर खाने तथा कर्मचारीहरूका लागि खाद्यान्न अभाव देखिएको प्रजिअ अर्यालले बताउनुभयो ।

मुस्ताङका प्रदेश सभा सांसाद तथा नेकपाका अध्यक्ष चन्द्रमोहन गौचन भन्नुहुन्छ, ‘जिल्लाको ३५ प्रतिशत जनसङ्ख्यालाई अब छिटै सडक नखुल्ने हो भने खाद्य सङ्कट हुन्छ ।’ उहाँ थप्नुहुन्छ, ‘मुस्ताङमा अधिकांशले खाद्यान्न जोहो गरेर राख्ने गरेको भए पनि लामो समयसम्म हवाई तथा सडक यातायात अवरुद्ध हुँदा स्टक सकिने आउने ठाउँबाट नआउँदा समस्या हुन्छ ।’

मुस्ताङका प्रतिनिधि सभा सांसद प्रेमप्रसाद तुलाचनले भन्नुभयो, ‘बज्रदल गणले ग्यासको अभाव भएको कुरा राखेपछि लोमन्थाङ क्षेत्रमा रहेका डिपोहरूबाट ६० वटा ग्यास सिलिण्डर झारेर सेनालाई उपलब्ध गराइएको छ । खाद्यान्न स्टक गर्ने गरिएको भएपनि इन्धन स्टक कम हुने भएकाले इन्धनको समस्या भएको छ ।’ तल्लो मुस्ताङको घाँसा, लेते तथा कुञ्जो क्षेत्रमै खाद्यान्न अभाव भइसकेको तुलाचनको भनाइ छ ।

तपाईको प्रतिक्रिया