सौराहमा आधा, पोखरामा १० प्रतिशत होटल खुला

  साउन १६, २०७७

चितवन, साउन १६ : लकडाउनका कारण चार महिनादेखि बन्द भएका चितवनका पर्यटकीय क्षेत्रका होटल बिहीबारबाट खुला भएका छन् ।

तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा क्षेत्रका होटल बिहीबार ५० प्रतिशत खुला भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “अब यहाँका होटल खुला भएका छन्, आएर बस्न सामान्य कार्यक्रम गर्न सकिन्छ, ५० प्रतिशत होटल अहिले खुलेका छन् ।”

पार्क सफारीका सञ्चालक महेश खनालले होटल खुला भएकै दिन २० वटा कोठा बुक भएको बताउनुभयो । बैठकका लागि बुक भएको छ, उहाँले भन्नुभयो, “यस्तो कोरोनाको कहरबीच पनि उत्साह छाएको छ । ” आज खुला भएकै दिन केही बुक भएका हुन्, नोभेम्बरका लागि पनि बुक भएको छ, हाम्रा लागि यो उत्साह हो । घरमा बस्दा दिक्क लागेर होटलमा बस्ने भन्दै आउने छन् । सङ्घसंस्थाका बैठकका लागि बुक भएको छ ।

नाफाभन्दा घाटा बढी

पोखरा : कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका १० प्रतिशत मात्र होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । बन्दाबन्दी खुले पनि लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसानप्रायः छ ।

यहाँका करिब साना होटल मात्र बिहीबारदेखि सञ्चालनमा आएको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । पश्चिमाञ्चल होटल सङ्का अध्यक्ष विकल तुलाचनले साना होटल खुले पनि ठूला तत्काल खोल्ने अवस्था नरहेको बताउनुभयो ।

ठूला होटल सञ्चालन गर्दा लागि धेरै आर्थिक व्ययभार थपिन्छ । मौद्रिक नीति जारी गरे पनि कर्जा प्राप्तिको सुनिश्चितता छैन, होटल मर्मतसम्भार कर्जा चाहियो, कर्मचारीलाई तलब खुवाउनुप¥यो । यीलगायत थुप्रै समस्या छन् ।” अध्यक्ष तुलाचनले सङ्क्रमण दिनानुदिन बढिरहेकाले सन्त्रास बढेर पनि होटल सञ्चालनमा उत्साह थप्न नसकेको बताउनुभयो । अफ सिजन छ, ४÷५ प्रतिशत अकुपेन्सी पनि भएन भने चलाएर मात्र के गर्नु ? होटल वाराहीका अपरेसन म्यनेजर बुद्धि शर्माले भन्नुभयो ।

होटल क्राउन ग्रान्डका जनरल म्यानेजर रोशन खवासले पनि सरकारले अनुमति दिए पनि होटल सञ्चालन गर्ने अवस्था नरहेको बताउनु भयो । एकातिर गेस्ट आउने अवस्था छैन भने अर्कातिर स्वस्थ रहेर सेवा दिनुपर्ने बाध्यता छ । को कहाँबाट कसरी आएको छ सबै थाहा हुँदैन । त्यसैले तत्काल खोल्ने सोचमा छैनौँ, उहाँले भन्नुभयो ।

त्यसैगरी होटल साङ्ग्रिला भिलेज रिर्सोटका आवासीय प्रबन्धक गुप्ता गिरीले पाहुना आउने अवस्था सिर्जना नभएसम्म खोलेर अर्थ नरहेको भए पनि खोल्दै नखोल्न पनि नभएको बताउनुभयोे ।

तपाईको प्रतिक्रिया