निर्मला पन्त हत्या प्रकरण : प्रमाण नष्ट गरेकाे आरोप लागेका आठ प्रहरी निर्दाेष ठहर

  साउन १५, २०७७

धनगढी, साउन १५ : कञ्चनपुर जिल्ला अदालतले बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका आठ जना प्रहरीलाई सफाइ दिएको छ । अदालतले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जना प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा विष्टसहित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी, ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी हवल्दार चाँदनी साउद रहेका छन् । उहाँहरूमाथि निर्मला पन्त बलात्कार र हत्या घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

यसैगरी, हिरासतमा राखेका व्यक्तिलाई यातना दिएको आरोप लगाइएको थियो । सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरमा आठै जना प्रहरीले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिनुभयो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजालसले आरोपित सबै जनालाई सफाइ दिएको उहाँले बताउनुभयो ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडक सिंहले प्रहरीविरुद्ध जाहेरी दिएपछि सरकारी वकिलको कार्यालयले प्रहरीविरुद्ध मुद्दा चलाएको थियो । मुद्दामा मुछिएका सबै जना निर्दोष रहेको अदालतले बिहीबार फैसला गरेको छ । साथीको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया बालिका निर्मलाको २०७५ साउन ११ गते उखुबारीमा शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया