विपत्तिबाट बढ्दैछ धनजनकाे क्षति : जोखिम मापन नक्सा दराजमा, पूर्वतयारी शून्य

  साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपालमा हरेका वर्ष विभिन्न खाले प्राकृतिक विपत्तिहरू आइपर्छन् । जब कुनै विपत्ति आउँछ तब मात्र हामी उद्धार राहतको कुरा गर्न थाल्छौँ । विज्ञहरू कतिपय विपत्ति टार्न नसकिए पनि त्यसको पूर्वतयारी गर्न सके त्यसबाट हुने धनजनको क्षतिलाइ न्यून गर्न सक्ने बताउँछन् ।

‘नेपालमा प्राकृतिक विपत्तिको पूर्वतयारी छैन तर राज्यका संयन्त्रहरू उद्धारमा मात्रै केन्द्रित छन्’ भू–गर्भविद् शिव बाँस्कोटा भन्नुहुन्छ, ‘जोखिमबारे पूर्वसूचना र तयारी गरेमा ठूलो जनधनको नोक्सानी हुनबाट जोगाउन सकिन्थ्यो ।’

राज्यका संयन्त्रहरू पूर्वतयारीभन्दा पनि उद्धारमै केन्द्रित बन्दा नेपालमा बर्सेनि प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुने क्रम बढेको छ । वरिष्ठ भू–गर्भविद् बाँस्कोटा, विपद् एकैपटक घटाउन नसकिने तर त्यसको जोखिमबाट बच्न सकिने बताउनुहुन्छ ।

केन्द्रमा बनेका प्रकोप जोखिमसम्बन्धी नक्सा र हुन सक्ने क्षतिबारे तल्लो निकायसम्म सूचना नपुग्नुले नै नेपालमा बर्सेनि प्राकृतिक प्रकोपबाट जोखिम बढ्दैगएको बाँस्कोटाको अनुभव छ । घटना भएपछि मात्रै उद्धार गर्ने परिपाटीको अन्त्य र पूर्वतयारी गरेमा विपद्बाट जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ ।

‘हामी विपत्ति जोखिमको नक्सा बनाउँछौँ, तर त्यो नागरिकसम्म पुर्याउनै सक्दैनौँ । पहिरो जान सक्ने खतराको नक्सा दराजमा हुन्छ । त्यहाँका नागरिकसम्म सूचना पुर्याउन नसक्दा जोखिम घटाउन सकिँदैन ।’ बाँस्कोटाले भन्नुभयो ।

म्याम्दीमा पहिरो जान सक्ने खतराको सङ्केत भएको नक्सा काठमाडौँमा बन्यो तर त्यो म्यादीसम्म पुग्न सकेन । आखिर म्याग्दीमा पहिरोले धेरैको ज्यान लियो । यसले प्राकृतिक प्रकोपबाट हुने क्षति क्रमिक रुपमा घट्नुको सट्टा बढेको बाँस्कोटाको बुझाइ छ ।

भूगर्भविद् बाँस्कोटा भन्नुहुन्छ, ‘विकट गाउँसम्म पुग्ने कुरा नै छाडौँ, सन् २००० मा बनेको भूकम्पको जोखिमको नक्सा काठमाडौँमा प्रयोगमा ल्याउन नसक्दा सन् २०१५ मा आएको भूकम्पले क्षति धेरै गर्याे । त्यो नक्सामा रेड जोन राखिएका साँखुलगातय क्षेत्रमा असर धेरै देखियो ।’

प्राकृतिक विपत्तिको जोखिमबाट जोगिन स्थानीय नागरिकमा सचेतना नै आवश्यक रहेकाले जोखिम हुने ठाउँसम्मका नागरिकहरूलाई त्यसको जानकारी पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । स्थानीय सरकार बनेसँगै स्थानीयस्तरमा हुन सक्ने जोखिमबारे बनेका सामाजिक तथा प्राकृतिक नक्सा स्थानीय तहसम्म पुर्याउने व्यवस्था मिलाउन आवश्यक रहेको बाँस्कोटाले भन्नुभयो ।

काठमाडौँमा बनेका नक्साहरूमा अङ्ग्रेजी भाषाको प्रयोग भएको र धेरै प्राविधिक विषय भएकाले समुदायमै युवालाई समेटेर विपद्को बारेमा थाहा पाउने तालिम दिनुपर्ने बताउनुभयो ।

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने बढ्दै
प्राकृतिक विपत्तिको कारणले नेपालमा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढिरहेको छ । प्राकृतिक विपत्तिबाट हुन सक्ने भौतिक तथा मानवीय क्षति कम गर्न पूर्वतयारी नहुँदा र जोखिमको पूर्वसूचना सम्बन्धित ठाउँमा पुर्याउन नसक्दा नेपालमा बर्सेनि जनधनको क्षति बढिरहेको छ ।

पछिल्लो एक वर्षमा नेपालमा पहिरोमा परेर १८५ जनाको ज्यान गएको छ । चट्याङ लागेर ८३ जना, आगोमा जलेर ४३ जना, जङ्गली जनावरको आक्रमणमा परेर ३४ जना र सर्पले डसेर ३३ जनाको ज्यान गएको हो । सामाजिक सचेतना जगाउन सकेमा मृत्यु हुनेहरूको यस्ताे सङ्ख्यामा कमी गर्न सकिने विज्ञहरूको धारणा छ ।

यो अार्र्थिक वर्षको असारबाट यतामात्रै पहिरोमा पुरिएर १५५ जनाको ज्यान गइसकेको छ । जम्मा ४५ दिनमा मात्रै सर्पले डसेर सात जना, चट्याङ लागेर सात जना, भारी वर्षाका कारण आठ जना र बाढीले बगाउँदा तीन जनाको ज्यान गएको हो ।

यो साता मात्रै पहिरोमा पुरिएर २६ जनाको ज्यान गएको छ भने यो महिनामा पहिरोमा पुरिएर ४५ जना र बाढीले तीन जनालाई बेपत्ता पारेको छ । गत वर्ष पहिरोमा पुरिएका ४५ जना र बाढीले बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिको कारणले घाइते हुनेहरूको सङ्ख्यासमेत वृद्धि भइरहेको छ । अघिल्लो महिनामा मात्रै पहिरोमा परेर ११६ जना, आगलागीमा परेर २६ जना, चट्याङ लागेर २६ जना, सर्पले टोकेर २२ जना र जङ्गली जनावरको आक्रमणबाट १५ जना घाइते भइसकेका छन् । यो साता पहिरोमा पुरिएर २२ जना, भारी वर्षामा परेर तीन जना र आगलागीमा परेर दुुई जना गम्भीर घाइते भएका छन् ।

अघिल्लो वर्ष प्राकृतिक विपत्तिमा परेर एक हजार ६६ जना गम्भीर घाइते हुनुभएको थियो । अघिल्लो वर्ष चट्याङ लागेर ३३५ जना आगलागीमा परेर ३१७ जना, जङ्गली जनावरको आक्रमणबाट २०३ जना, पहिरोमा पुरिएर १७६ जना र सर्पको डसाइबाट ३५ जना घाइते हुनुभएको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलले जनाएको छ ।

तपाईको प्रतिक्रिया