थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७

  साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ को कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको जानकारी दिनुभयो । नेपालमा हाल पाँच हजार २२७ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या १४ हजार २७८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् ।

एकैदिन २२७ जना डिस्चार्ज    
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २४८ पुगेको छ । उहाँका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् ।

मुलुकभर पाँच हजार २२७ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

काठमाडाैँ उपत्यकामा थप ४५ सङ्क्रमित पुष्टि    
काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको हो । 

तपाईको प्रतिक्रिया