जलेश्वर, साउन १४ : कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित हुनुभएको छ ।
स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताउँदै त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिनुभयो ।
केही दिनअगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिनुभयो । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।
त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित हुनुभएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँ केही दिनअगाडि मात्रै वीरगञ्जबाट आउनुभएको थियो भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आउनुभएको फोकल पर्सन झाले जानकारी दिनुभयो ।
त्यसैगरी भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भन्नुभयो, ‘योसहित अहिलेसम्म जिल्लामा आठ सय ५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’
उहाँले कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं. ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका पत्नी र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेको जानकारी दिनुभयो । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।
यसैबीच, जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रुपमा पीसीआर गराउने निर्णयका साथै पीसीआर भएकाहरूलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।






