ऋण प्रक्रिया सरल बनाउन आग्रह

  साउन १४, २०७७

काठमाडौँ, साउन १४ : एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को बोर्ड अफ गभर्नर्सको पाँचौँ बैठक मङ्गलबार सम्पन्न भएको छ । भर्चुअल रूपमा सञ्चालित सो बैठकको औपचारिक उद्घाटन जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको थियो ।

बैठकलाई नेपालको तर्फबाट अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्नुभयो । उहाँले जलवायु परिवर्तन तथा कोभिड महामारीका कारण उत्पन्न आर्थिक सङ्कट एवं स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि थप वित्तीय लगानी गर्न कम कार्बन उत्सर्जन गर्ने र कम आय भएका नेपालजस्ता राष्ट्रका लागि तत्काल वित्तीय लगानी आवश्यक रहेको बताउनुभयो । यस्तो लगानी गरिबी घटाउन पनि आवश्यक रहनेमा उहाँको जोड थियो ।

उहाँले नेपालजस्ता कम आय भएका मुलुकका आधारभूत पूर्वाधार परियोजनालाई वित्तीय रूपमा सम्भाव्य बनाउन र यसको पहुँचको प्रत्याभूतिका लागि बैङ्कको ऋण प्रदान गर्ने प्रावधानमा थप लचकतासहित सहुलियत दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

बैङ्कलाई दीर्घकालीन रूपमा पूर्वाधार विकासको लगानीमा अझै सक्षम तुल्याउन अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याउँदै उहाँले यसले दिगो आर्थिक विकास लगायतका पूर्वाधार विकासमा कम आय भएका मुलुकको ठूलो वित्तीय खाडल पूरा गर्न सघाउ पुुग्ने विश्वास व्यक्त गर्नुभयो । बैङ्कको अध्यक्षमा पुनः नियुक्त हुनुभएकोमा जिन लिक्वानलाई मन्त्री डा. खतिवडाले बधाई दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया