सुनसरी–मोरङ कोरिडोर पुनः त्रासमा

  साउन १३, २०७७

विराटनगर, साउन १४ : तीन महिना लामो बन्दाबन्दी झेलेर उद्योग–व्यवसाय सञ्चालनमा ल्याएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायी पुनः त्रासमा परेका छन् । कोरोना सङ्क्रमणको बढ्दो दर र समुदायस्तरमा फैलिएको आशङ्काले करिडोरका उद्योगी–व्यवसायीमा त्रास उत्पन्न गरिदिएको हो ।

‘बहुत दबाब महसुस गरिरहेका छौँ, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले भन्नुभयो, पछिल्लो दस दिनको सङ्क्रमण अवस्थाले उद्योग–व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता बढाएको छ ।

उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङ र व्यवसायीहरूको छाता संस्था मोरङ व्यापार सङ्घले एक महिनासम्मका लागि जिल्लामा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिसकेका छन् । दैनिक उद्योगमा जाने उद्योगीहरू पछिल्लो एक सातादेखि कर्मचारीकै भरमा उद्योग छोडेर घरमै बसेको घिमिरेले बताउनुभयो ।

एक सातादेखि म उद्योग पुगेको छैन, घिमिरेले भन्नुभयो, पछिल्लो एक सातामा विराटनगरमा देखिएको सङ्क्रमणले उद्योग–व्यवसाय पुनः बन्द हुने अवस्थामा पुग्ने भयो । सङ्घ र सङ्गठनले सञ्चालनमा रहेका उद्योगलाई मास्क, सेनिटाइजर, थर्मल गन र साबुन–पानीको प्रयोेग बढाउँदै उद्योगमा सामाजिक दूरी कायम गराउने अनिवार्य सर्त हुनुपर्ने निर्णयसहितको परिपत्र गरिसकेका छन् ।

लकडाउन लम्बिदै जाँदा जेठको अन्तिम सातादेखि उद्योगहरू क्रमशः सञ्चालनमा आएका थिए । कोरिडोरका साना, मझौला र ठूला गरी छ सय उद्योगमध्ये दुईवटा कार्पेट उद्योगबाहेकले ७० प्रतिशत क्षमतामा उत्पादन सुरु गरिसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कोरिडोरबाट २० प्रतिशत कामदार कटौती गरिएको छ ।

कोरोना सङ्क्रमण जोखिमको प्रमुख कारण भारतबाटै आउने मजदुर हुनसक्ने उद्योगी–व्यवसायीको ठम्याइ छ । उद्योगमा आवश्यक पर्ने प्राविधिक कामदारको विवरण स्थानीय पालीका र जिल्ला प्रशासनमा रहे पनि असङ्गठित र लुकिछिपी आउने कामदार सबैभन्दा धेरै जोखिम मानिएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत ६० हजार मजदुरमध्ये २० प्रतिशत भारतीय छन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उत्पादन ह्रासमा सञ्चालित उद्योगहरू पुनः बन्द गनुपर्ने अवस्था आए अर्थतन्त्रले धान्न नसक्ने स्थिति सिर्जना हुने दाबी गर्नुभयो । उहाँले उद्योग कर्मचारीकै भरमा मात्रै लामो समयसम्म सञ्चालन हुनसक्नेमा आफूलाई विश्वास नरहेको बताउनुभयो । विस्तारै ‘पिकअप’ लिँदै गरेका उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने चिन्ताले सताइरहेको उहाँले बताउनुभयो ।

सरकारले थला परेका उद्योगलाई मौद्रिक नीतिमार्फत राहत दिएको भए पनि त्यसको कार्यान्वयन हुनु अगाडि नै थप जोखिमको वातावरण सिर्जना हुनसक्ने भयले धेरैलाई पिरोलेको छ । उद्योगी–व्यवसायीले चिन्तासँगै कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणमा सर्वपक्षीय पहलका लागि हातेमालो गरेर जानुपर्छ भन्ने सोचसमेत राखेको सङ्गठनका अध्यक्ष घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया