सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

  साउन १३, २०७७

दैलेख, साउन १३ : कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि दैलेखको पश्चिम क्षेत्रबाट पूर्वमा गएको सलहले ३५ प्रतिशत बाली नष्ट गरेको छ ।

कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेका अनुसार जिल्लामा सलहले सबैभन्दा बढी भगवतीमाई गाउँपालिकाको १, २, ३, ४ मा बढी क्षति पु¥याएको छ ।

उहाँले किसानले सलहका कारण मकै बाली तथा धान बाली नष्ट गरेको खबर गरेपछि कृषि विकास कार्यालय दैलेखबाट प्राविधिक टोली पठाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । उहाँले जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक टोली पठाएर क्षतिको तथ्याङ्क सङ्कलन सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।

सलहको ठूलो झुन्ड कर्णाली प्रवेश गरेको पहिले बसेको ठाउँबाट अन्त सरिसकेको जनाइएको छ । त्यसअघि किसानले थाल, ड्रम बजाएर र धुवाँ लगाएर सलह भगाउने उपाय लगाएर सलह धपाउन खोजे पनि नसकेपछि खाए खाओस् भनेर छोडेका थिए ।

भगवतीमाई गाउँपालिका–२ का किसान रामबहादुर शाहीले लगाएको मकै बाली र धान बालीमा समेत क्षति गरेपछि यो वर्षभरि पुग्ने खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको बताउनुभयो । उहाँले लगाएको मकै, कोदो र धान बालीमा बढी नष्ट गरेको बताउनुभयो ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले किसानले लगाएको मकै, धान र कोदोमा क्षति गरेकाले किसान चिन्तित बनेको बताउनुभयो ।

जाजरकोटमा प्रकोप बढ्दो
खलङ्गा : सलहका बथान दैनिक जाजरकोटमा प्रवेश गर्न थालेका छन् । यसका कारण कृषक चिन्तित छन् ।

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जिल्लामा दैनिक प्रवेश गरेको सलहबाट जिल्लाको शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका बढी प्रभावित भएको जानकारी दिनुभयो ।

सलहको प्रकोपबाट भेरी नरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिका पनि अछुतो रहन नसकेको प्रमुख अधिकारीको भनाइ छ ।

सलहको प्रकोपले जिल्लामा पु-याएको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको उहाँले बताउनुभयो । जिल्लाका सातवटै पालिकाका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयबाट केही दिनमै तथ्याङ्क सङ्कलन गरिने प्रमुख अधिकारीले बताउनुभयो ।

हिजो मात्र जिल्लामा प्रवेश गरेको सलहको बथान जिल्ला सदरमुकाम खलङ्गामा नबसी कुशे गाउँपालिकाको पाँचकाटियातर्फ लागेको उहाँको भनाइ छ ।

बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले खेतबारीको धान, मकै, कोदो, सिमी, भटमासलगायत विभिन्न अन्नबाली, डाले घाँसलगायत सबै वनस्पति नष्ट गरेको जानकारी दिनुभयो ।

अधिकृत सिंहले दिएको जानकारीअनुसार जुम्लातिर जानका लागि बारेकोट हँुदै गएको सलहको बथान चाखुरेको कुहिरो र चिसोले धेरै सङ्ख्यामा आफैँ मरेका छन् भने केही फेरि जाजरकोटमै फर्किएका छन् ।

अछाममा देखियो
अछाम : पूर्वी अछामको कमलबजार र विनायक क्षेत्रको खेतीबालीमा पनि सलह देखापरेको छ । कर्णाली प्रदेशको दैलेखबाट आएर खेतीबाली खान थालेको कमल बजार नगरपालिका–५, कुइकाका कमानसिंह भुलले जानकारी दिनुभयो ।

कृषकले लाएको बालीनाली सलहले खान थालेपछि किसान चिन्तित छन् । मकै, धान, कोदो, तरकारीलगायत बालीनालीमा सलह कीराले ठूलो क्षति गरेको भुलको भनाइ छ । आफ्नो वडाका विभिन्न स्थानमा पुगेर हेर्दा सलह कीराले बालीनाली निकै क्षति गरेको सो वडाका अध्यक्ष नन्दसिंह चलाउनेले जानकारी दिनुभयो ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाको विनायक र तोलीमा सलह देखापरेको स्थानीयको भनाइ छ । विनायकमा समेत सलह आएको सुनेको छु, पञ्चदेवल विनायक नगरपालिका–७ का गोविन्दबहादुर रावलको भनाइ छ । सलह आएको खबर पाएपछि छिमेकी वडाका कृषकमा समेत बाली खाइदिने चिन्ता बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया