मणिपाल शिक्षण अस्पतालका चिकित्सकमा कोरोना सङ्क्रमण

  साउन १२, २०७७

पोखरा, साउन १२ : पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका आशङ्कामा आइतबार उहाँको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा पोजिटिभ देखिएको हो ।

उहाँलाइ क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो । सङ्क्रमित डाक्टरले जाँचेका बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले जानकारी दिनुभयो ।

उहाँ मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन्हुन्छ । आइतबार उहाँको स्वाब क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो । डाक्टरको रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहनुभएको थियो ।

सोमबार मात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा एक हजार ३७७ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । निको हुनेको सङ्ख्या पनि एक हजार २०१ जना पुगेका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण अहिले गण्डकी प्रदेशमा १७२ जना आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया