म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए, कुल सङ्ख्या २५ पुग्यो

  साउन १२, २०७७

बेनी, साउन १२ : म्याग्दीमा थप तीन जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै सङ्क्रमितहरूको सङ्ख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित तीनैजना पुरुष हुन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरू दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा परीक्षण गर्दा डेङ्गु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार मङ्गला गाउँपालिका–१, कुहुँका ४१ वर्षीय एक पुरुष, धौलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनी नगरपालिका–४, सिङ्गा बस्ने १९ वर्षीय पुरुष र बेनपा–४, सिङ्गाका २५ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण पोजिटिभ पाइएको उहाँले जानकारी दिनुभएको छ ।

वर्षातकाे समयमा पानी परेसँगै सङ्क्रमितहरू बढ्ने गरेको सूचना अधिकारी सुवेदीको भनाइ छ । हालसम्म म्याग्दीको बेनी नगरपालिकाका १४ जना, मङ्गला गाउँपालिकामा ८, रघुगङ्गामा दुई र अन्नपूर्णका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया