कर्मचारीको व्यावसायिक कार्य सम्पादनले सरकारको लक्षित उद्देश्य प्राप्त गर्न सकिने

  साउन १२, २०७७

काठमाडौँ, साउन १२ : अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले कर्मचारीले कार्य सम्पादन गर्दा ऐन, कानुन, विधि र नीति पहिल्याउनुपर्ने बताउनुभएको छ । सरकारका प्रवक्ता डा. खतिवडाले कर्मचारीको व्यावसायिक कार्य सम्पादनले मात्रै सरकारको लक्षित उद्देश्य प्राप्त गर्न सकिने चर्चा गर्दै भन्नुभयो, “म व्यावसायिकतामा विश्वास गर्छु, यसको संरक्षणमा मेरो साथ रहन्छ ।”

उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त सचिव हरिप्रसाद बस्यालको स्वागतमा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।उहाँले मन्त्रालयमा अढाई महिनादेखि सचिव नहुँदा बाँकी रहेका धेरै काममा तीब्रता दिनुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “आमसञ्चार सम्बन्धी केही कानुन संसदमा छन्, केही मन्त्रिपरिषद्मा लैजाने क्रममा छन् । सरोकारवालासँग छलफल गर्नुपर्ने पनि केही विषय छन् । तिनलाई छिटो टुङ्गो लगाउनुपर्ने अवस्था छ ।”उहाँले डिजिटल नेपालको फ्रेमवर्क, मन्त्रालयका वार्षिक कार्यक्रमलगायत विषयमा मन्त्रालयले तीब्र काम अगाडि बढाउनुपर्नेमा जोड दिदै भन्नुभयो, “मेरो समय बाँडिन्छ, त्यसैले मन्त्रीको पनि अलिकति भारी सचिवले बोक्नुपर्छ ।”

उहाँले मन्त्रालयको गरिमा कामय राख्दै सिर्जनात्मक काममा लाग्न नवनियुक्त सचिवलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले कर्मचारीमा रहेका समस्यालाई मनमा र दराजमा नराख्न आग्रह गर्दै मन्त्रालयले समस्या सम्बोधन गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जवाफदेहितासहितको पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको स्पष्ट पार्नुहुँदै सूचना तथ्यपरक, स्वस्थ, सत्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बैंक, वित्तीय संस्था, व्यवसाय, व्यापार, कृषिदेखि आमसञ्चारको क्षेत्रमा बढ्दो प्रविधिका कारण टिजिटल प्लेटफर्मको सुरक्षालाई दरिलो बनाउनुपर्ने चुनौती समेत रहेको बताउनुभयो । सोही अवसरमा मन्त्री डा.खतिवडाले हुलाक सेवा विभागबाट सेवा निबृत्त कृष्णमुरारी न्यौपाने र सूचना तथा प्रसार विभागको महानिर्देशकबाट मङ्गलबारदेखि सेवा निबृत्त हुनुहुने लेखनाथ शर्मालाई मायाको चिनोसहित विदाई गर्नुभयो । उहाँले भन्नुभयो, “अवकास हुनु भनेको अर्को कुनै सेवाका लागि ढोका खोल्नु हो । जहाँ जुन रुपमा भए पनि राष्ट्र निर्माणको भूमिकामा सबै एक ठाउँ छौ ।”

कार्यक्रममा सोमबार विहान मात्रै पदभार ग्रहण गर्नुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साझा प्रयासले निश्चित गन्व्यमा पुगिने भएकाले ‘एक्सन प्लान’ बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पेशाप्रति इमान्दार रही आत्मविश्वाससहित मन्त्रालयको नीति, ऐन, कानुनको पालना, स्रोत र साधनको विवेकपूर्ण प्रयोगमा आफ्नो ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारी सेवामा लामो समय विताएका अवकासप्राप्त कर्मचारीको ज्ञान र सीपलाई राज्यले नीति बनाएर प्रयोग गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मङ्गलबार पद बहाली गर्नुभएको थियो । यसअघि सचिव बस्याल गण्डकी प्रदेशको प्रमुख सचिव हुनुहुन्थ्यो । मन्त्रालयका सहसचिव राधिका अर्यालका अनुसार अवकासप्राप्त कृष्णमुरारी न्यौपानेले २०४६ साउन १ गते शाखाअधिकृतबाट सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँ २०७७ असार २९ गते सेवा निबृत्त हुनुभएको हो । त्यस्तै, लेखनाथ शर्माले २०४५ असार १२ गते शाखाअधिकृतबाट सेवा सुरु गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया