चितवनमा सबस्टेसन तयार

  साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।

आपूर्तिलाई गुणस्तरीय बनाउने पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसन निर्माण भएकाले आपूर्ति पर्याप्त र सहज हुने भएको हो । मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् सो सबस्टेसनमा ल्याई वितरण प्रणालीमा समेत प्रवाहको परीक्षण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा राखिएका १३२÷३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको र अब त्यसलाई लोड दिएर चार्ज गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । स्थानीयलाई विद्युत् आपूर्ति गर्नका लागि ३३÷११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ ।

घिसिङका अनुसार एक हप्ताभित्र सबस्टेसनको स्वचालित प्रणाली सञ्चालन र ११ केभी फिडरबाट विद्युत् वितरण हुनेछ । राप्ती नगरपालिका–६ हर्दीमा तयार भएको सो सबस्टेसनका कारण त्यहाँको प्राविधिक चुहावट करिब ४÷५ प्रतिशत घट्ने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने घिसिङले बताउनुभयो ।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर, ३३ केभी लाइनमार्फत ३३÷११ केभी, चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो ।

पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ । नेपाल सरकारको करिब ५४ लाख अमेरिकी डलर लगानीमा आव २०७२÷७३ मा सो सबस्टेसन निर्माण गरिएको हो ।

दमक र बर्दघाट सबस्टेसनको क्षमता बढाइयो
यसैबीच प्राधिकरणले झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरूको क्षमता बढाइएको जनाएको छ । दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२÷३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीले जानकारी दिनुभयो ।

त्यहाँ ३० एमभीएको ट्रान्सफर्मर थियो । अब नयाँ थप गरिएपछि ट्रान्सफर्मको क्षमता ९३ एमभीए पुगेको छ । अब दमक क्षेत्रको विद्युत् आपूर्ति विश्वसनीय हुने चौधरीले बताउनुभयो । यसैगरी नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२÷११ केभी, २२.५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको राखिएको हो । त्यहाँ २२.५ र ७ एमभीएका ट्रान्सफर्मर थिए ।

तपाईको प्रतिक्रिया