मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

  साउन १२, २०७७

दमक, साउन १२ : झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा आएका तथा अन्यको स्वाब संकलन शुरु गरिएको हो ।

संक्रमण समुदायमा फैलिए नफैलिएको बुझ्न समुदाय स्तरबाट स्वाब संकलन शुरु गरिएको र आइतवारमात्र ११७ जनाको स्वाब संकलन भएको बताईएको छ । सोमबार पनि यसलाई निरन्तरता दिन शुरु गरिएको छ । अझै करिब २ सयको स्वाब संकलन गरिने मेची नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सशिकला राईका अनुुसार काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा रहेका ३२ जना सुरक्षाकर्मी सहित स्थानीय व्यसायी, पत्रकार लगायत ११७ जनाको स्वाब संकलन गरिएको छ । अहिलेसम्म मेचीनगरमा २० जना सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सिमामा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर मात्र खटाउन थालिएको पनि सुरक्षा स्रोतले जनाएको छ । मेचीनगरमा हालसम्म ७० जनामा कोरोना संक्रमण पुष्टि भएको र ४६ जना संक्रमण मुक्त भएर घर फर्केको जनाईएको छ । २४ जना उपचारमा रहनु भएको छ ।

मेचीनगर भारतसंग सीमा जोडिएको नगरपालिका हो । प्रमुख नाँका काकडभिट्टा यहि रहेको भारतबाट सयौं नेपालीहरु प्रवेस गरेका थिए ।

तपाईको प्रतिक्रिया