अध्यक्षद्वयबीचको वार्ता अन्यौल, दुई दिनपछि स्थायी कमिटी बैठक

  साउन ११, २०७७

काठमाडौँ, साउन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका लागि सारिएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षले वार्ता र संवाद गरी सहमतिको प्रयास गर्ने भनिएको थियो । सात दिनका लागि सारिएको स्थायी कमिटी बैठकमा अहिलेसम्म एक पटक मात्र दुई अध्यक्षबीच वार्ता भएको छ ।

साउन ९ गते शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा करिब एक घण्टा वार्ता भए पनि ठोस सहमति भएन । त्यसपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बन्न सकेको छैन । उल्टै अध्यक्षबीचको तिक्तता झन बढ्दैगएको अनुमान पार्टीका नेताहरूले लगाउँदै आएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सोही दिनको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टीको सामूहिक नेतृत्वले मात्र समस्या समाधान हुने’ भन्दै प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपछि दुई अध्यक्षबीच वार्ता र संवादको वातावरण नै बिग्रेको केही नेताहरूको बुझाइ छ । पार्टीका एक स्थायी कमिटी सदस्यले भन्नुभयो, “दुई अध्यक्षबीच सहमति होला भनेर एक साताको समय दिइएको हो, आफैँमा आरोप प्रत्यारोप गर्न थाल्नुभयो भने कसरी समस्या समाधानको बाटो निस्केला ?” स्थायी कमिटीको बैठक १३ गते बिहान ११ बजेका लागि बोलाइएको छ । त्यसअघि दुई अध्यक्षबीच सहमति हुनेमा आफूहरू विश्वस्त रहेको ती सदस्यले बताउनुभयो ।

‘पार्टीका नेताहरूले त्यस्तो विश्वास गर्नुभए पनि अध्यक्षद्वयबीच वार्ता र संवाद नभएपछि समस्या समाधान कसरी होला ?’ नेताहरू नै अन्यौलमा छन् । अध्यक्षद्वयलाई दिइएको पछिल्लो समय अनुसार पाँच दिन गुज्रिसकेको छ । पाँच दिनमा एकपटक मात्र वार्ता बस्यो । अब बाँकी दुई दिनमा पनि वार्ता हुने नहुने अन्यौल कायमै रहेको अध्यक्षद्वयको सचिवालयले जनाएको छ ।

दुई अध्यक्षबीच वार्ता हुने नहुने कुनै जानकारी नआएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले गोरखापत्र अनलाइनलाई बताउनुभयो । “स्थायी कमिटी बैठक बस्ने मिति आउन दुई दिन बाँकी छ, तर पनि अध्यक्षहरूबीचको बैठक बस्ने नबस्नेबारे केही जानकारी आएको छैन” उहाँले भन्नुभयो । अर्का अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले पनि अध्यक्षद्वयबीच हुने पछिल्लो वार्ताको समय निर्धारण भइनसकेको बताउनुभयो ।

“अहिलेसम्म कुनै जानकारी पाइएको छैन, तर समस्या समाधान गर्नमा दुवै अध्यक्ष जानकार नै हुनुहुन्छ” उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले ‘नेपाली भूमि समेटिएको नयाँ नक्सा जारी गर्ने काम पार्टीको निर्णयअनुसार भएकोले कुनै व्यक्तिको देवत्वकरण गर्न नहुने’ पछिल्लो अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो अभिव्यक्तिको सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाउनुभयो ।

अध्यक्षद्वयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस जारी नै छ । असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म बैठकको प्रमुख एजेण्डामा प्रवेश नै पाएको छैन । दुई वर्षे अवधिको सरकारले गरेको कामको मूल्याङ्कन, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि), पार्टी एकता प्रक्रिया टुङ्गो लगायने यावत विषय बैठकका एजेण्डा तय गरिएका थिए । पैँतालिस सदस्यीय स्थायी कमिटी बैठकमा त्यसको आधा सङ्ख्यामा मात्र सदस्यहरूले अहिलेसम्म आफ्नो धारणा राख्नुभएको छ ।

दुई अध्यक्षबीच सघन वार्ता र संवाद हुन नसके पनि पक्षीय वार्ता भने आन्तरिक रुपमा चलिरहेको नेताहरूको बुझाइ छ । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताले ‘एक व्यक्ति एक पद’ लाई सहमतिको बटमलाइन भनेर पेश भइरहनुभएको छ । प्रधानमन्त्री ओलीलाई कुनै एक पदबाट राजीनामा दिनुपर्ने दबाब उहाँहरूले दिइरहनुभएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने कुनै औचित्य पुष्टि नहुने भन्दै सरकार सञ्चालनमा सहयोग गर्न पार्टीका नेताहरूलाई आग्रह गर्दैआउनुभएको छ ।

दुई अध्यक्षबीचको वार्ता र संवादले सहमति बनेमा पार्टीभित्रको आन्तरिक विवादले निकास पाउने प्रतीक्षामा नेकपाका नेताहरू रहनुभएको छ । २०७५ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको घोषणा भएको थियो । तर अहिलेसम्म एकता प्रक्रिया टुङ्गिएको छैन ।

तपाईको प्रतिक्रिया