पार्टीबाट नेता निष्कासन गर्नु दुर्भाग्य : कोइराला

  साउन ११, २०७७

काठमाडौँ, साउन ११ : नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका तीनजना नेतालाई बिना आधार पार्टीबाट निष्कासन गरिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले शनिबार पार्टीका तीनजना नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यसमा गोविन्दराज जोशी (तनहुँ), पुष्करनाथ ओझा (कैलाली) र रामबहादुर विष्ट (डडेल्धुरा) लाई कारबाही गर्ने निर्णय गरेको थियो ।

यस्ताे निर्णयप्रति असन्तुष्ट नेता कोइरालाले आइतबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “एकातिर हामी अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गराउँदैछौँ, अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?” आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको टिप्पणी नेता कोइरालाको छ । उहाँले अगाडि थप्नुभएको छ, “उहाँहरूले पार्टी र लोकतन्त्रको पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।”

पार्टीले निष्कासन गरेपछि नेता जोशीले आफूले पार्टीमा पेश गरेको स्पष्टीकरणको अंश सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभा २०७४ को निर्वाचनमा म उम्मेदवार नै होइन, पार्टीले नै मेरो उम्मेदवारी बदर गरिसकेपछि मविरुद्धको उजुरी बिलकुल झुठा हो ।”

तपाईको प्रतिक्रिया