राष्ट्रिय परिचय पत्रको अभिलेख सङ्कलन

  साउन ११, २०७७

चितवन, साउन ११ : राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा परेको चितवन जिल्लामा आगामी मङ्गलबारबाट अभिलेख सङ्कलन सुरु गरिने भएको छ । चितवनको भरतपुरमा शनिबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेकोे एक अभिमुखीकरण कार्यक्रममा भरतपुर महानगरपालिकाबाट सुरु गरिने जानकारी दिइएको हो ।

महानगरपालिकाका २९ वडाका वडाध्यक्ष, नगर कार्यपालिका सदस्यलगायतको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा विभागका कार्यक्रम निर्देशक सुवास ढकालले राष्ट्रिय परिचयपत्र, यसमा समावेश हुने विषयवस्तु र परिचयपत्रको प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो । चितवनमा भरतपुर महानगरपालिकाबाट र ललितपुर जिल्लामा ललितपुर महानगरपालिकाबाट यो काम अगाडि बढाइएको कार्यक्रम निर्देशक ढकालले बताउनुभयो ।

रतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्य तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाराईको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिका क्षेत्रमा गत निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई आधार बनाएर परिचयपत्रसम्बन्धी अभिलेख सङ्कलन गर्ने तयारी गरिएको जानकारी गराइएको थियो ।

सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेर दोस्रो चरणको सुरुआत गरेको हो ।

दोस्रो चरणमा चितवन, ललितपुर र रसुवासहित १५ जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७५-७६ मा सिंहदरबारका कर्मचारी र पाँचथर जिल्लाका नागरिकलाई वितरण गरिसकिएको परिचयपत्र आव २०७७-७८ मा एक करोड नागरिकलाई वितरण गर्ने गरी बजेटमा व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया