जापान जानेलाई सचेत रहन आग्रह

  साउन १०, २०७७

काठमाडौँ, साउन १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ ।

जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रले भ्रमपूर्ण प्रचार गरी रकमसमेत असुलेको पाइएकाले यसमा सजग रहन आग्रह गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगार विभागको जापान एकाइमार्फत जापान जाने कामदार छनोट हुने व्यवस्था रहेको र श्रमिक छनोट प्रक्रियामा निजी क्षेत्रका संस्थाको भूमिका नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गर्दै नेपाल र जापान सरकारबीच भएको एमओसी अनुरूप हाल केयर गिभरका लागि केही माग प्राप्त भएको र त्यसका लागि मन्त्रालयले सम्बन्धित सरोकारवाला समेतलाई सहभागी गराउँदै छनोटका लागि आधार तय गर्ने काम अगाडि बढाएको स्पष्ट पार्नुुभएको छ ।

सो आधार तयार भएपछि जापानबाट माग भएबमोजिम श्रमिक जापान जाने क्रम अगाडि बढ्ने विज्ञप्तिमा जनाइएको छ । नेपाल र जापानबीच नेपाली श्रमिक लिने विषयमा भएको सम्झौता अनुसार जापानले जापानी भाषा परीक्षा उत्तीर्ण गरेका तथा सम्बन्धित काम गर्नसक्ने गरी सीप परीक्षण गरेर मात्र विदेशी श्रमिक लिने नीति बनाएको छ । यसका लागि जापान सरकारले जापान फाउन्डेसनलाई छनोटको जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया