आफैँले पड्काएको बन्दुकले गाईघाटमा एकजनाकाे मृत्यु

  साउन १०, २०७७

गाईघाट, साउन १० : आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबर राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोहि वडा अध्यक्ष केशरकुमार खड्काले बताउनुभयो । राति करिव ८ बजेको समयमा बन्दुक पड्केको आवाज सुनेर भेला भएका स्थानीयहरुले घरको आँगनमै उहाँलाई बन्दूकको गोली लागेर मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बन्दुक पड्काएर आत्महत्या गरेको भन्ने खवर पाएको पुष्टि गर्दै प्रहरी टोली घट्नास्थलतर्फ पठाएको जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी उपरिक्षक भीम दाहालले जिल्ला र इलाका प्रहरी कार्यालय बाराहाबाट छुट्टाछुट्टै टोली त्यतर्फ पठाएर अनुसन्धान सुरु गरेको बताउनुभयो । प्रहरीको दुवै टोली शनिबार विहान घट्नास्थल पुगेर मुचुल्का तयार पार्ने काम सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया