होटल खोल्नु खुसी होइन चिन्ता

  साउन १०, २०७७

भरतपुर, साउन १० : सरकारले बन्दाबन्दीलाई खुला गरेसँगै चितवनका पर्यटकीय होटल व्यवसायीलाई चिन्ता बढाएको छ ।

चार महिनादेखि बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चले व्यवसायी चिन्तित बनेका हुन् । त्यति गर्दा पनि होटलमा ग्राहक आउने हुन् वा होइनन् भन्ने अर्काे चिन्ता थपिएको होटल व्यवसायीले बताएका छन् ।

सौराहामा अवस्थित होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी होटल सञ्चालनमा ल्याउन नै लाखौँ खर्च लाग्ने बताउनुहुन्छ । थन्किएका सवारीसाधनको ब्याट्री, टायरलगायत सामान फेर्नुपर्ने तथा अन्य मर्मत पनि अहिले समस्याका रूपमा रहेका छन् ।

लामो समयसम्मको बन्दले होटलभित्र झार बढेर जङ्गल भएका छन्, कोठामा रहेका बेड सबै मक्किएर काम नलाग्ने भएका छन् भने फर्निचरमा धुलो लागेको छ, होटल सञ्चालक दुवाडी भन्नुहुन्छ, “अहिले होटललाई नियमित सञ्चालनमा ल्याउन कम्तीमा पनि २५ देखि ३० लाख रुपियाँ खर्च लाग्छ ।”

सौराहाका पुराना होटल व्यवसायी गिरीधारी चौधरीको भनाइमा पनि अहिलेको अवस्थामा होटल सञ्चालनमा ल्याउन लाखौँ रुपियाँ लाग्ने भएको छ । लाखौँ रुपियाँ लगाएर पनि ग्राहक आउने हुन् वा होइनन् भनेर व्यवसायी दोहोरो मनस्थितिमा परेको वताउनुहुन्छ ।

सरकारले लकडाउन खोलेपछि हामी पनि होटल खोल्नुपर्ने अवस्थामा पुुगेका छौँ तर होटल खोल्नै सकिने अवस्था छैन, अनि होटल खोले पनि मानिस आउने नआउने टुुङ्गो छैन, लकडाउन खुलेर हामी खुुसी होइन, चिन्तित भएका छौँ, उहाँले भन्नुुभयो ।

चितवनमा २२५ पर्यटकीय होटल छन् । यीमध्ये सौराहामा मात्रै ११० सञ्चालित छन् । चितवनमा सौराहाबाहेक भरतपुर, मेघौली, पटिहानी र इच्छाकामनामा पनि पर्यटकीय होटल छन् ।

एउटा होटल सरसफाइ गरी सञ्चालनमा ल्याउन कम्तीमा २५ लाख रुपियाँ खर्च लाग्ने कुरा आधार मान्ने हो भने चितवनका होटल सञ्चालका लागि मात्रै ५६ करोड रुपियाँभन्दा बढी खर्च लाग्छ ।

बन्दाबन्दीले होटल समस्यामा परेका बेला यो खर्च कसरी जुटाउने भन्ने चिन्ता आफैँमा छ । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया जस्तो अवस्था सहेर पनि होटल सञ्चालनमा ल्याउनुपर्ने बाध्यतामा व्यवसायी रहेको बताउनुहुन्छ ।

कोरोनाको कहरले सिर्जित बन्दाबन्दीले मर्माहत भएका हामी व्यवसायी फेरि होटल सञ्चालनकै लागि बजेट कहाँबाट जुटाउने भन्ने चिन्तामा छौँ, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया