मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन

  साउन १०, २०७७

दमक, साउन १० : झापामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोना जाँचका लागि मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन आइपुगेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले शुक्रबार अपरान्ह प्रदेश सभा सदस्य बसन्त बाँनियालाई उक्त मेसिन हस्ताणतरण गर्नु भएपछि शनिबार विहानै उक्त मेसिन मेची अस्पताल भद्रपु्र ल्याईएको हो ।

प्रदेश सभा सदस्य बसन्त बाँनियाका अनुसार मेची अस्पतालमा ल्याउने तयारी गरिएको मेसिन भन्दा अहिले आएको मेसिन धेरै नै गुणस्तरीय र बढी क्षमताको भएको बताउनु भएको छ । पहिला भनिएको मेसिनले एक पटकमा २५ देखि ३० जनासम्मको रिर्पोट दिन सक्ने भएपनि अहिले आएको मेसिनले एकै पटक ९० वटासम्म नमुनको रिर्पोट दिन सक्छ, बाँनियाले भन्नुभयो । स्विस सरकारको सहयोगमा यो मेसिन प्राप्त भएको पनि उहाँले बताउनु भएको छ ।

मेची अस्पताल ब्यस्थापन समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार तत्कालै पिसिआर मेसिन सञ्चालनमा ल्याउने ब्यवस्था मिलाइदैछ । हामीले मेसिन तथा प्रयोगशालामा आवश्यक उपकरणहरु जोड्न शुरु गरेकाछौ, पोर्तेलले भन्नुभयो । तीनदेखि चारदिन भित्रमा नै प्रयोगशाला सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो ।

शुक्रबारमात्र झापामा ड्युटीमा रहेका १८ शसस्त्र प्रहरी सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसले समुदायमा सङ्क्रमण शुरु भएको आंशका गरिएको छ । जिल्लामा शुक्रबार बेलुकासम्मको तथ्याङ्क अनुसार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको पाईएको छ । शंकास्पद कोरोना सङ्क्रमितको स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर र धरान लगिदै आएको छ ।

तपाईको प्रतिक्रिया