आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने

  साउन ०९, २०७७

काठमाडौं, साउन ९ : कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेट स्थगित गरेको केही दिन नबित्दै लिगले आफ्नो तालिका सार्वजनिक गरेको हो ।

लिगको सञ्चालक समितिको बैठकले आईपीएलको आगामी संस्करण यूनाइटेड अरब एमिरेट्स(यूएई)मा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तय गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले यूएईमा प्रिमियर लिगको आगामी संस्करण गर्ने निर्णय गरेर आन्तरिक तयारी सुरु गरे पनि सरकारले अनुमति दिइसकेको छैन् ।

क्रिकइन्फोका अनुसार लिगको फाइनल खेल नोभेम्बर ८ वा १० मा गर्ने गरी तयारी गरिएको छ । आईपीएल सञ्चालक समितिका अध्यक्ष ब्रिजेश पटेलले दुबई, अबुधाबी र शाहजाँहमा प्रिमियर लिगका अधिकांश खेलहरु हुने बताउनुभयो। आईपीएलको आगामी संस्करण ५१ दिनमा ६० वटा खेल हुनेछ । पछिल्लो संस्करणमा ४४ वटा खेल भएको थियो ।

तपाईको प्रतिक्रिया