भाइरसको त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित

  साउन ०९, २०७७

वासिङ्टन, साउन ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गर्नुभएको छ । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गर्नुभएको हो ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले यस्तो सङ्कटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गर्नुभयो ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना सङ्क्रमितको सङ्ख्या नाटकीय रुपमा बढ्दैगएको छ ।

संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरू टेक्सस, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिनुभयो । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।

ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ ।

तपाईको प्रतिक्रिया