उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

  साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “असोजपछि पानीको उत्पादन कम हुँदा हामी वितरण पनि कम गर्छौँ ।”

केयुकेएलले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सधैँ पानीको हाहाकार भइरहेको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानका उपायका रुपमा हेरिएको थियो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ । लिमिटेडले विभिन्न स्थानमा डिप बोरिङ गर्ने र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ । उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया