सामूहिक नेतृत्वले मात्र समस्या समाधान : प्रचण्ड

  साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामूहिक नेतृत्वले मात्र पार्टीको समस्या समाधान हुने बताउनुभएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले त्यस्तो बताउनुभयो । तर पार्टीमा अहिले सामूहिक निर्णयको पद्धति बस्न नसकेको उहाँले चर्चा गर्नुभयो ।

२०१४ सालमा पनि सामूहिक नेतृत्व हुन नसक्दा त्यतिबेला पार्टीमा समस्या आएको स्मरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टी भित्रको एकता अझै टुङ्गिनसकेको अवस्थामा पार्टीभित्र सङ्कट उत्पन्न हुनु राम्रो नभएको बताउनुभयो । सङ्कट अन्त्यको प्रयास भइरहेको र चाँडै केही न केही सहमतिमा पुगिने उहाँले विश्वास दिलाउनुभयो ।

चुनावताका जनताको बीचमा गरिएको प्रतिबद्धताअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनतासँग गरिएको बाचाअनुसार काम गर्न सकेका छैनौँ, यसमा पार्टीमा छलफल हुनुपर्छ ।” कम्युनिष्ट पार्टीमा व्यक्तिको देवत्वकरण नहुने तर सामूहिक नेतृत्व, विधि र पद्धति नै मुख्य हुने उहाँले बताउनुभयो ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गर्ने काम पनि पार्टीको नीति र निर्णयअनुसार भएको बताउँदै उहाँले कसैलाई राष्ट्रवादी र कसैलाई अराष्ट्रवादीको शैलीले हेर्न उचित नहुने बताउनुभयो । पार्टीबीचको एकता सङ्घर्षकैबीच हुने बताउँदै उहाँले थप्नुभयो, “पार्टी एकता चोचोमोमो मिलाएर हुने होइन, सङ्घर्षद्वारा हासिल उपलब्धीका आधारमा हुन्छ ।” मुलुक समाजवादी अर्थतन्त्त्रतिर गइरहेकाले पार्टीभित्रको एकता अझ बलियो र सुदृढ हुनुपर्ने उहाँले बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र सङ्कट भएपनि नफुट्ने विश्वास दिलाउनुभयो । पार्टीमा समस्या देखिएपछि अब नयाँ शिराबाट पार्टी चल्नुपर्ने भन्दै उहाँले कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान हुन नहुने बताउनुभयो । पार्टीको नीति, पद्धति र विधिलाई सबैले माने पार्टीमा कुनै सङ्कट नआउने र आएको सङ्कटको पनि सजिलै समाधान हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया