इनरुवा बजारममा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय

  साउन ०९, २०७७

विराटनगर, साउन ९ : सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको छ । जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यवाश्यक सेवा बाहेक सबै क्षेत्र शनिबारदेखि अर्को निर्णय नहुँदासम्म लकडाउन गर्ने निर्णय गरिएको हो ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार संक्रमित व्यक्तिले बजारमा हिडडुल गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

इनरुवा घर भई मोरङमा कार्यक्षेत्र भएका व्यक्तिलाई संक्रमण देखिएको हो । उनी घर र कार्यालय आउजाउ गरिरहने भएकोले संभावित जोखिम न्यूनीकरणका लागि शुक्रबारदेखि नै सम्पर्क पहिचान गरिएको थियो ।

उनको सम्पर्कका आधारमा प्रत्येक वडाका २५ जनाको स्वाब संकलन गर्ने समेत निर्णय भएको मेयर मेहताले जानकारी दिनुभयो । स्वाब संकलन गर्दा अति भीडभाड हुने क्षेत्रका पसलका सञ्चालक तथा आउजाउ गर्नेहरुको छनौट गर्नका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया