उद्योगका कारण बीपी राजमार्ग जोखिममा

  साउन ०९, २०७७

काभ्रे, साउन ९ : क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको भनाइ छ ।

पानी पर्न थालेसँगै आउने त्रसरको डस्टका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए ।

रोसी गाउँपालिका वडा नं. ८ डिप्सामा रहेको नाङ्साल क्रसर उद्योग, नमोबुद्ध नगरपालिकामा रहेको मनकामना र रोसी गाउँपालिकामा रहेको पशुपति उद्योगका कारण बढी जोखिममा परेको छ । उक्त उद्योगका कारण ढुङ्गा झर्ने तथा डस्ट पानी परेसँगै राजमार्गमा आएपछि अवरुद्ध हुने गरेको छ । रोसी गाउँपालिकाका अध्यक्ष डीबी लामाले पानी परेसँगै आउने क्रसरको डस्टका कारण राजमार्ग असुरक्षित भन्दै गएको बताउनुभयो । हामीले पटक÷पटक राजमार्ग र रोसी खोलालाई जोगाइदिन आग्रह गर्दै आएका छौँ तर सुनुवाइ भएन ।

राजनीतिक पहँुचका आधारमा सञ्चालित क्रसर तथा खानी उद्योगलाई कारबाही गर्ने निकाय नै मौन रहने गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि रोसी गाउँपालिका, प्रहरी र स्थानीयले खुलाउँदै आएका छन् । हिउँदमा समेत सुक्खा पहिरो आउँदा राजमार्ग डाइभर्सन गरिएको थियो ।
नाङ्साल क्रसर उद्योगका सञ्चालक वाङ्चु लामाले क्रसरकै कारण राजमार्ग अवरुद्ध नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, हाम्रो पनि केही कमजोरी होला तर सबै क्रसरकै कारण भयो भन्न मिल्दैन । उहाँले स्थानीय सरकारले जथाभावी खनिएका सडकका कारण बीपी राजमार्ग जोखिममा पर्दै गएको बताउनुभयो । बीपी राजमार्ग अन्तगर्त रोसी गाउँपालिका र नमोबुद्ध नगरपालिकामा मात्र एक दर्जन क्रसर खानी उद्योग सञ्चालनमा रहेका छन् । मापदण्डविपरीत उद्योग सञ्चालन भए पनि नियमन गर्ने निकाय उदासीन हुँदा कारबाही हुन नसकेको स्थानीयको आरोप छ ।  

तपाईको प्रतिक्रिया