न्यायालयको शून्य अवधि उपत्यकामा सकियो

  साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरलेका अनुसार न्यायालयले शून्य अवधि मानेको अवस्था सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ । अन्तर जिल्लामा भदौ १ गतेदेखि लागू हुनेछ ।

सरकारले लामो दूरीको यातायात पूर्णरुपमा आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भनेको छ । सोहीअनुसार अन्तरजिल्लामा शून्य अवधि सकिएको मानिनेछ । “उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शून्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ”, प्रवक्ता पोखरेलले भन्नुभयो, “अन्तरजिल्लाको हकमा भने आगामी भदौ १ गतेदेखि मात्र सो नियम लागू हुनेछ ।”

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको इजलासले महामारी फैलिएको अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानूनी व्यवस्था गर्न कानूनी बाधा फुकाउनेसम्बन्धी व्यवस्था गरेको थियो ।

गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी यही साउन ६ गते रातिबाट सकिएको छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै अदालतको शून्य अवधि पनि सकिएर सम्बन्धित जिल्लामा मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएको छ । बन्दाबन्दीको अवधिमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया