बिर्तामोड, साउन ८ : झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोशित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनेकाे हो ।
तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साविक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको झापा प्रहरी प्रवक्ता डीएसपी थापाले जानकारी दिनुभयो । मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तथा पौडी खेल्न तीनै जना बालकसँगै गएका थिए ।
घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे मात्र बालक अङ्कुश तामाङको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो । पोखरीमा बालक तामाङको शव फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान थामी दाजुभाइको शव त्यही पोखरीबाट फेला पारेको डीएसपी थापाले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आर.एन्ड.सी-नयाँ युग जेभीले चार करोड ३८ लाख रुपियाँमा वि.सं.२०७८ साल असार २४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । ‘भतिजसहित अन्य दुई जना बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो,’ तामाङले भन्नुभयो ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन, र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नुपर्दैन ।’
तीन जना बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताउनुभयो । निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भएको सुब्बाले बताउनुभयो, यसका लागि आफूहरू कानुनी उपचारमा जाने समेत सुब्बाको भनाइ छ । हाल तीनजना बालक मृतक बालकमध्ये अङ्कुश तामाङको शव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगे पनि अन्य थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाउन मानेका छैनन् ।






