सामाजिक सुरक्षा भत्ता घरमै वितरण

  साउन ०८, २०७७

बारा, साउन ८ : सामाजिक सुरक्षा भत्ता बुझ्न आउन नसक्नेका लागि बैङ्कका कर्मचारी घरमै पुगेर सेवा दिन थालेका छन् ।

बाराको महागढीमाई नगरपालिकामा सामाजिक सुरक्षाबापतको रकम लिन बैङ्कसम्म आउन नसक्ने एकल महिला, ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्गता र ज्येष्ठ दलित नागरिकको घरमा पुगेर बैङ्कका कर्मचारीले सेवा दिइरहेका छन् ।

नगरपालिकाको ११ वडामा रहेका करिब तीन हजार १२ जनामध्ये केही अशक्तलाई घरदैलोमा पुगेर सामाजिक सुरक्षाबापतको रकम दिइएको राष्ट्रिय वाणिज्य बैङ्क गञ्जभवानीपुरका सहायक प्रबन्धक आशिष श्रेष्ठले बताउनुभयो ।

महागढीमाई वडा नम्बर १० की ८२ वर्षीया शान्तिदेवी ब्राह्मणी र सोही वडाका ८६ वर्षीया बेदामी देवी कलवारिनलाई तीन÷तीन हजार प्रतिमहिनाका दरले २४÷२४ हजार रुपियाँ बुझाइएको बैङ्कका प्रबन्धक अरबिन्दकुमार झाले जानकारी दिनुभयो ।

महागढीमाई नगरपालिकाको वडा नम्बर २ मा ९५ लाख, वडा नम्बर १ मा ९० लाख, वडा नम्बर ४ मा ५२ लाख २७ हजार, वडा नम्बर ६ मा ९४ लाख २४ हजार, वडा नम्बर ७ मा १८ लाख, वडा नम्बर ११ मा ५० लाख ५४ हजार रुपियाँ सामाजिक सुरक्षाको रकम वितरण गरिएको छ ।

यसैगरी वडा नम्बर ३, ५, १० मा एक करोड रुपियाँभन्दा बढी वितरण गरिएको छ भने वडा नम्बर ८ र ९ को रकम बैङ्कमा आउन बाँकी रहेको प्रबन्धक झाले बताउनुभयो ।

एकल महिलालाई दुई हजार, ज्येष्ठ नागरिकलाई तीन हजार, पूर्ण अपाङ्गतालाई तीन हजार, अशक्त अपाङ्गतालाई एक हजार छ सय र दलित ज्येष्ठ नागरिकले प्रतिमहिना दुई हजारका दरले सामाजिक सुरक्षाबापतको रकम प्राप्त गर्दै आएका छन् ।  

तपाईको प्रतिक्रिया