कङ्गोमा स्वास्थ्य आपतकाल अन्त्य, सीमाहरू खुला

  साउन ०७, २०७७

किन्सासा, साउन ७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गाेका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गर्नुभएको छ । उहाँले व्यावसायिक क्रियाकलाप, विद्यालय र सीमाहरू खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गर्नुभएको छ ।

करिब आठ करोड जनसङ्ख्या रहेको विशाल अफ्रिकी मुलुक कङ्गाेमा मार्च १० यता आठ हजार ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको र १९६ जनाको मृत्यु भएको थियो । राष्ट्रपति चिसेकेडीले अफ्रिकामा कोरोना सङ्क्रमितको सङ्ख्याका दृष्टिले कङ्गाे नवौँ सर्वाधिक असर परेको मुलुक रहेको बताउँदै मुलुकलाई लामो समय लकडाउनमा राख्दा मुलुकको आर्थिक स्थिति अझ कमजोर हुने देखिएपछि सबै किसिमका प्रतिबन्धहरू बिस्तारै हटाउन लागिएको जानकारी दिनुभयो । 

कङ्गाे सरकारले गत मार्च २४ मा स्वास्थ्य आपतकाल घोषणा गर्दै सीमाहरू पनि बन्द गरेको थियो । साथै सङ्क्रमण फैलिनसक्ने भन्दै विद्यालयहरू, बार र रेस्टुराँ बन्द गरिएका थिए । सरकारको नयाँ आदेशअनुसार अब बुधबारदेखि सबै पसल, बैङ्क, रेस्टुराँ र बार खुला हुनेछन् भने सार्वजनिक यातायात खुला गरिने तथा ठूला सभाहरू पनि गर्न पाइनेछ ।

विद्यालय र विश्वविद्यालयहरू आगामी अगस्ट ३ बाट पुनः खुल्नेछन् भने विमानस्थल, बन्दरगाह, सीमा र मठमन्दिरजस्ता धार्मिक स्थलहरू आगामी अगस्ट १५ देखि खुल्नेछन् ।

तपाईको प्रतिक्रिया