काठमाडौँ, साउन ७ : मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापन महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर मनाइएको छ ।
संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको जन्मस्थल रामेछापडाँडाको भँगेरीमा समेत पुष्पलालको स्मरण गरिएको छ । त्यस्तै, कीर्तिपुरको चम्पादेवीमा रहेको सालिकमा माल्यार्पणसहित नेपालको राजनीतिक एवम् सामाजिक परिवर्तनमा पुष्पलालले पुर्याउनुभएको योगदानको स्मरण गरिएको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिका–१८ विजेश्वरीमा निर्माण गरिएको पुष्पलाल स्मृति पार्कको बुधबार उद्घाटन गरिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको सो पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो ।
पूर्वप्रधानमन्त्री नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर फैलिएको हल्लाको आधारमा होइन, हामी मिहिन ढङ्गले वाद–विवाद, सम्वाद गरिरहेका र्छौँ ।” उहाँले ‘वादेवादे जायते तत्त्वबाेध’ भनेजस्तै वाद, विवाद, संवाद हुनेबित्तिकै आत्तिहाल्नु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विधिबाट सबै टुङ्गो लगाउनुपर्छ । हामी त्यही प्रयासमा छौँ । नेताहरूको बीचमा विश्वास र समझदारीको समन्वय र विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तोसुकै चुनौतीको सामना गर्न सकिन्छ । एकताबद्ध भएर अघि बढ्न सकिन्छ ।”
उहाँले पुष्पलालको योगदानलाई चीरस्थायी बनाई राख्न पनि पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टी एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न नेतालाई सुझाव दिनुभयो । यस्तै, प्रदेश सभा सदस्य वसन्त मानन्धरले पुष्पलालले भन्नुभएजस्तै ‘नेता होइन, नीति प्रधान’ हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सामन्तवाद तथा निरङ्कुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको ४२ औँ स्मृति दिवसका सन्दर्भमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँकै पदचिन्हहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण नेपालमा ऐतिहासिक परिवर्तनहरू गर्न सफलता मिलेको स्पष्ट पार्नुभयो ।
उहाँले पुष्पलालका आदर्शहरूलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता व्यक्त गर्दै सबै खालका भड्कावहरूबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरू आन्दोलनमा सधैँ मार्गदर्शनका रुपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्ट पार्टीहरूले विभिन्न कालखण्डमा जनताको बीचमा रहेर काम गर्न सकेकै कारण आज यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ ।” पूर्वी नेपालको रामेछाप जिल्लाको भँगेरीमा १९८१ साल असार १५ गते जन्मनुभएका पुष्पलालको भारत प्रवासमा नै २०३५ साल साउन ७ गते निधन भएको थियो । सरकारले भँगेरीमा पुष्पलालको पूर्णकदको सालिकसहित विशाल पार्कको निर्माण गर्दैछ ।