बन्दाबन्दी सकिए पनि सीमा नखोल्न दबाव

  साउन ०७, २०७७

नेपालगञ्ज, साउन ७ : कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सिमानालाई अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् ।

पछिल्लो समयमा आएर नेपालमा कोरोना सङ्क्रमित घट्दैगएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा सङ्क्रमण भेटिरहेकोले आगामी छ महिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताउनुभयो ।

उहाँले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्याउने हो भने सीमावर्ती जिल्लाहरूमा कोभिड–१९ को भयावह रुप देखिनसक्ने तर्क गर्नुभयो ।

यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तीव्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताउनुभयो ।

उहाँले सिमानामा अझै पनि जन्तीको आवागमन भइरहेको तथा बिना कुनै आवश्यक काम पनि मानिसहरू आउने-जाने भइरहेकोले सो पनि रोक्नुपर्ने माग गर्नुभयो ।

नेपालगञ्जका अर्का अगुवा समाजसेवी हेमन्तराज काफ्लेले भारतबाट आउनेहरूलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनुपर्ने माग गर्दै सिमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताउनुभयो ।

उहाँले भारतबाट आउनेले कोरोना परीक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सिमाना बन्द राखिनु नेपालको हितमा हुने बताउनुभयो ।

अर्का स्थानीय दीपक पौडेले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिएपनि नेपाल भारत सिमाना अझै छ महिनाभन्दा बढी खोल्न नहुने तर्क गर्दै देश भित्रै पनि सामाजिक दूरी र मास्कमा कडाइ आवश्यक रहेको बताउनुभयो ।

बन्दाबन्दीलाई समाप्त पारिएझैँ नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाको भनाइ छ ।

यसैबीच, बुधबार पनि बाँकेमा नेपालगञ्ज १८ का एक जना महिला र तथा राप्ती सोनारीका दुई जना महिला पुरुष गरेर तीन जना सङ्क्रमित थपिएका छन् । यीसँगै अब बाँकेमा आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया