पर्यटन क्षेत्र पुनः चलायमान हुने : पर्यटनमन्त्री

  साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष ०७७-७८ को मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई सम्बोधन गरेका विषयको कार्यान्वयनका लागि आवश्यक रायसुझाव लिन पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा मुख्य व्यवसाय पुनः सञ्चालन गरेसँगै पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले आगामी साउन १५ देखि होटल, ट्राभल, पदयात्रालगायत खुल्ने भएकाले पर्यटनलाई बिस्तारै लयमा फर्काउन आवश्यक स्वास्थ्य प्रोटोकल बनाएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा कोभिड–१९ सङ्क्रमण जोखिम कम रहे पनि विश्व स्वास्थ्य सङ्गठनले अझै पनि कुनै पनि देशले हेलचेक्र्याइँ नगर्न चेतावनी दिइरहेकाले स्वास्थ्य सुरक्षा मापदण्डका साथ व्यवसाय पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्रीले भन्नुभयो, “हवाई तथा पर्यटन क्षेत्र खुलेसँगै क्रमशः पर्यटन क्षेत्र लयमा फर्कन्छ, तर हामी अझै पनि कोभिड मुक्त मुलुक भइसकेका छैनौँ, त्यसैले हवाई क्षेत्र, पर्यटनका अन्य व्यवसायमा स्वास्थ्य प्रोटोकल बनाएर त्यसलाई कडाइका साथ पालना गर्नुपर्छ ।” पर्यटन व्यवसाय पुनः सञ्चालन गरी सङ्ख्यामा भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउने योजनाका साथ अघि बढ्न पनि पर्यटनमन्त्रीले व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय उडान खुलेसँगै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा सञ्चालन भई अबको ६ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा सात प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार ‘पर्यटन गाउँ’ बनाउने योजनाका साथ स्थान छनोटको काम शुरु गरिने पनि मन्त्री भट्टराईले जानकारी दिनुभयो ।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वित्तीय क्षेत्र र पर्यटन क्षेत्रको सम्बन्ध विगतदेखि नै बलियो रहेको भन्दै कोभिड–१९ बाट सबैभन्दा बढी असर परेको पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्नेगरी राष्ट्रबैंकले व्यवसायीको सहुलियतका लागि विभिन्न व्यवस्था गरेको बताउनुभयो ।

मुलुकको कूल गार्हस्थ्य उत्पादन पर्यटन क्षेत्रको ६.७ प्रतिशत र देशको कूल रोजगारीमा ६.९ प्रतिशत योगदान रहेको जानकारी दिँदै पर्यटन पूर्वाधारमा पूँजी अभाव हुन नदिन राष्ट्र बैंकले सहजीकरण गरिदिने उल्लेख गर्नुभयो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले व्यवसायीलाई सहुलियतपूर्ण कर्जा र ऋण पुनःतालिका गर्नेजस्ता विषय सम्बोधन गरेकामा खुशी व्यक्त गर्दै पर्यटन क्षेत्रलाई बिस्तारै गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै नीतिगत सुधारतर्फ मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । होटल क्षेत्रमा हाल ४४ हजार श्यया, अन्तर्राष्ट्रिय उडानका लागि जहाज पनि पर्याप्त रहेको अवस्थामा अबको मुख्य ध्यान अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र पहुँच विस्तारमा केन्द्रित हुनुपर्नेमा सचिव अधिकारीको जोड थियो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले पर्यटन व्यवसायलाई सहज हुनेगरी राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाले व्यवसायीलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, होटल एसोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह लगायतले मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई सम्बोधन गरी व्यवस्था गरेका विषयको तत्काल कार्यान्वयन गर्नका लागि चाँडो कार्यविधि बनाएर लागू गरिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया