सर्लाही भाडसरका २९ घर दुई दिनदेखि डुबानमा

  साउन ०६, २०७७

सर्लाही, साउन ६ : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–५, भाडसरमा २९ घर डुबानमा परेका छन् । लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेका हुन् । अधिकांश स्थानीय डुबानमै परेको घरमा बसिरहेका छन् भने केहीले छिमेकीको घरमा शरण लिएर बसेका छन् । डुबानका कारण घर तथा बिजुलीको पोलबाहेक सडक, खेतबारी र अन्य कुनै पनि संरचना देखिएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले वर्षाका कारण जिल्लाका अन्य ठाउँमा खासै ठूलो क्षति नभएको र भाडसरमा मात्रै डुबानको समस्या देखिएको जानकारी दिनुभयो । डुबानमा परेको भाडसर गाउँको मङ्गलबार दिउँसो मलङ्गवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी जिसीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख लगायतले निरीक्षण गर्नुभएको छ ।

मलङ्गवा नगरपालिकाका मेयर साहले खुटौनातर्फका बासिन्दाले तटबन्ध बनाउन नदिँदा भाडसर क्षेत्र डुबानमा परेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाको घरसँगै स्वास्थ्य चौकी भाडसर र एक विद्यालय पनि डुबानमा परेको छ । भाडसरका स्थानीयले बर्सेनि लखन्देही नदीको बाढी पस्दा डुबानको समस्या झेल्नुपरेको गुनासो गरेका छन् ।

स्थानीय मुमताज अन्सारीले दुई दिनदेखि घर डुबानमा पर्दा घरभित्रका सबै अन्नपात नष्ट हुँदा खाद्यान्नको अभाव भएको गुनासो गर्नुभयो । उहाँका अनुसार यसअघि भएको वर्षामा पनि भाडसर डुबानमा परेको थियो ।

यसैबीच, मङ्गलबार दिउँसोबाट पानी पर्न कम भएपछि सर्लाहीमा डुबानको समस्या कम भएको छ । जलमग्न भएका जिल्लाका विभिन्न ठाउँहरूमा वर्षा रोकिएपछि पानीको स्तर कम हुँदैगएका छन् । तीन दिनको वर्षाले जिल्लाको पूर्व–पश्चिम हुलाकीसहित अन्य भित्री सडकहरू हिलाम्मे र जलमग्न हुँदा आवतजावत प्रभावित भइरहेको छ ।

तपाईको प्रतिक्रिया