हेटौँडामा सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन

  साउन ०६, २०७७

हेटौँडा, साउन ६ : मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् ।

तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ । गाउँपालिकासँगको परामर्श र छलफलपछि कक्षामा सामाजिक दुरी कायम राख्नेगरी बस्ने व्यवस्था मिलाइने र उचित सरसफाई व्यवस्था गर्नेगरी विद्यालय सुचारु गरिएको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य विद्यालयहरुले पनि हरेक दिन फरक फरक कक्षाका विद्यार्थी र शिक्षकहरु बोलाएर केही घण्टा छलफल गराउने र गृहकार्य दिएर पठाउने गरी व्यवस्था मिलाएको बताएका छन् ।

‘एउटा कक्षामा २० जनाका दरले विद्यार्थी राख्यौँ’, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक पौडेलले भन्नुभयो–‘कक्षा ९ का ८० जना विद्यार्थीका लागि ३ वटा कोठाको व्यवस्थापन गरेका छौँ ।’ केही दिनअघि गाउँपालिकाले विद्यालय सञ्चालनका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया गरी विद्यालय खोल्ने तरिकाबारे छलफल गरेको थियो ।

विद्यार्थीहरु घरमै रहँदा मानसिक समस्याहरु समेत देखिन थालेपछि विद्यालय जाने वातावरण तय गर्न कक्षागत आलोपालो गर्दै सामाजिक दुरी कायम राखेर कक्षा सञ्चालनमा ल्याइएको शिक्षा संयोजक हरिचन्द्र सापकोटाले बताउनुभयो । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने आधा दर्जन निजी विद्यालयहरु छन् । सामुदायिक विद्यालयहरुमा आलोपालो प्रणालीमा कक्षा सञ्चालन हुन थालेपछि निजी विद्यालयहरु पनि सोही अनुरुप खोल्ने तयारीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया