नेकपा स्थायी कमिटीकाे ११ बजेकाे बैठक १ बजेका लागि सारियाे

  साउन ०६, २०७७

काठमाडौं, साउन ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीचको वार्ता र सहमतिको प्रयासका लागि समय अपुग भएकोभन्दै दुई घण्टाका लागि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताउनुभयो । स्थायी कमिटी सदस्य बेदुराम भुसालले बैठक किन स्थगित गरिएको हो भन्नेबारे केही जानकारी नगराइएको बताउनुभयो । बैठक अघि दुई अध्यक्षबीच सहमतिको प्रयास गर्नेभन्दै बैठक स्थगित गरिएको हुनसक्ने उहाँले अनुमान लगाउनुभयो ।

दुई अध्यक्षबीचको आन्तरिक विवादका कारण नेकपामा सहमतिको प्रयास जारी राखिएको छ । असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक अहिलेसम्म नियमित सूचीमा प्रवेश गर्न नसकेको नेताहरुको भनाई छ । बैठकमा केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्न थालेपछि बैठक सुचीबाट डाइभर्ट भएको एक नेताले भन्नुभयो । असार २० देखि नियमित स्थायी कमिटी बैठक स्थगित हुँदैआएको छ ।

तपाईको प्रतिक्रिया