अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना विरुद्धको खोप परीक्षण उत्साहजनक भएको दावी

  साउन ०६, २०७७

काठमाडौं, साउन ६ : अक्सफोर्ड विश्वविद्यालयले औषधि उत्पादक आष्ट्राजेनेकासँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको छ । खोपले कोरोनाभाइरस विरुद्ध बलियो प्रतिरोधि क्षमता विकास गरेको दाबी गरिएको छ ।

अष्ट्रेलियाली मेडिकल जर्नल द लान्सेटमा प्रकाशित अध्ययन लेखमा अक्सफोर्ड विश्वविद्यालयको ट्रायलले खोप अत्यन्तै सुरक्षित रहेको प्रमाणित भएको उल्लेख गरेको छ । उक्त परीक्षणमा एक हजार ७७ जना वयस्कलाई सहभागि गराइएको थियो । खोप लगाइएको दुइ महिनाभित्र स्वयंसेवीमा कोषिकाको प्रतिरक्षा क्षमता वा टी कोषको प्रतिरक्षा क्षमता उच्च देखियो ।

बेलायत सरकारले उक्त खोपको करिब दश करोड मात्रा खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ । उक्त खोप चिम्पाञ्जीमा रुघाखोकी लाग्ने भाइरसको अनुवाशिंक इन्जिनियरिङ गरेर विकास गरिएको हो । तर प्रधानमन्त्री बोरिस जोन्सनले भने उक्त खोप सफल हुने आशामा पूर्ण सुनिश्चित हुनु अझै धेरै प्रारम्भिक हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सुनिश्चित छैनौं, हामी त्यहाँ पुग्न सकेको छैनौ्, अझै ट्रायलको आवश्यकता छ ।” तर यो सही दिशामा महत्वपूर्ण पाइला रहेको उहाँले प्रतिक्रिया दिनुभयो । अनुसन्धानकत्र्ताले दश जना स्वयंसेवीको प्रतिरक्षा प्रणाली परीक्षण गर्न दोस्रो पटक पनि खोप लगाएका थिए । “खोप सुरक्षित छ, केही अन्य असर पनि देखायो तर पनि दुबै सङ्क्रमण प्रणालीमा बलियो प्रतिरक्षा पहिचान गरिएको छ ।”–प्रारम्भिक नतिजाले देखाएको छ ।

“यो प्रतिरक्षा प्रणालीले भाइरसलाई पहिचान गर्नेमा आशावादी छौं, त्यसैले लामो अवधिसम्मका लागि खोपले भाइरस विरुद्ध संरक्षण गर्न सहयोग पुग्नेछ,” उक्त शोधका प्रमुख लेखक एवम् अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु पोलार्डले बताउनुभयो ।

प्रारम्भिक मानव परीक्षणमा सहभागीले भाइरस विरुद्ध लड्ने एन्टीबडीज र व्हाइट ब्लड सेल उत्पादन गरेको शोधमा दाबी गरिएको छ । पोलार्डले आफ्नो टोलीले सार्स–कोभ–२ को सङ्क्रमण विरुद्ध लामो समयसम्म प्रतिरक्षा प्रणाली बनाइराख्न खोपको प्रभावकारिताबारे अझै अध्ययन गर्ने बताउनुभयो । तर प्रभावकारी नतिजा देखाएको यो एक मात्र उपचार पद्धती हैन ।
प्रमुख सफलता
एक बेलायती कम्पनीले प्रतिरक्षा विकसित गर्ने अर्को उपायको खोजीमा पनि छन् । उक्त शोध बमोजिम इन्टरफेरन बिटा प्रोटिनको विकास गरी सक्रिय गरिएको प्रारम्भिक नतिजाले कोभिड–१९ को सङ्क्रमितलाई आईसीयूको आवश्यकता नपर्ने देखाएको छ ।

औषधि उत्पादक सीनर्जनले १०१ जना कोभिड–१९ सङ्क्रमितलाई ‘एसएनजी००१’ शरीरमा प्राकृतिक रुपमा पाइने एन्टीभाइरल प्रोटिनलाई एकत्रित गरेर सङ्क्रमण विरुद्ध लड्न सघाएको देखायो । उक्त अनुसन्धानले भेन्टिलेटरको आवश्यकता पूर्ति नगरी ज्यान गुमाउने ७९ प्रतिशत बिरामीलाई निको गरेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा स्वागत
विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड विश्वविद्यालयको खोप विकास सम्बन्धी प्रगतिको स्वागत गरेको छ । डब्ल्युएचओले सोमबार अक्सफोर्ड विश्वविद्यालयको प्रगतिप्रति स्वागत गर्दै खोपको ट्रायल विश्वब्यापी रुपमा ठूलो मात्रामा गर्ने गरी अगाडि बढ्न सुझाब दिएको छ ।

डब्ल्युएचओका कार्यकारी निर्देशक डा. माइक रयानले भन्नुभयो, “यो खुशीको समाचार हो, हामी कहाँ २३ वटा खोप क्लिनिकल ट्रायल विकासको चरणमा छन् र आजको दिनमा हामी समक्ष एक मात्र खोपको पहिलो चरणको तथ्याङ्क उपलब्ध भइसकेको छ ।”

विश्व स्वास्थ्य संगठनको वेबिनारमा उहाँले लान्सेट मेडिकल जर्नलमा प्रकाशित लेखमा अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप सुरक्षित र सकारात्मक प्रतिरक्षा प्रतिक्रिया दिएको सम्बन्धमा टिप्पणी गर्नुहुँदै यस्तो धारणा राख्नुभएको छ । उहाँले अन्य तीन खोपको डाटा समेत आउने क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अक्सफोर्ड विश्वविद्यालयबाट आएको नतिजालाई हामी स्वागत गर्छौं र विश्वविद्यालयमा शोधका सहभागी, आष्ट्राजेनेका र अक्सफोर्डका खोप समूहका समकक्षीलाई बधाई दिन चाहन्छौं ।” सकारात्मक नतिजाहरु प्राप्त भइरहँदा अझै लामो यात्रा गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म करिब एक करोड ४५ लाख ३० हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । करिब छ लाख सात हजार व्यक्तिको मृत्यु भएको छ भने ८२ लाख सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया